बैतडी । रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आएका छन् ।लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ । सानो बारी र घरको आँगनसमेत नगरपालिकाको डोजरले सडक खन्दा मासियो । चट्याङले श्रीमतीको मानसिक अवस्था ठीक छैन ।
चाडबाडको बेला घरमा चामल नभएपछि लौरो बनाएर बिक्री गर्न बैतडी सदरमुकाम पुग्नुभएका दशरथचन्द नगरपालिका–२, देहिमाडौंका दलित कृष्ण लावडले लौरो बिक्री भए चामल किनेर घर फर्किने योजना सुनाए । घँगारु र रुईसको लौरो बलियो हुने भएकाले पाँच सयदेखि आठसय रुपियाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।
बनजङ्गलबाट घँगारु र रुईस सङ्कलन गरेर लौरो बनाएर छाक टार्दै आएका कृष्ण लावडले गरिबलाई हेर्ने कुनै नेता नभएको बताए । लौरो बनाउने काठ खोज्न जाँदा पनि सामुदायिक वनका पदाधिकारीले दुःख दिने गरेको उनले बताए ।
पीडा सुनाउँदै उनले भने ,“ २०७३ सालमा घरमा चट्याङ प¥यो । चट्याङ लागेपछि उपचारकै क्रममा श्रीमतीको मानसिक अवस्था बिग्रियो । गाउँमा रोजगारी नहुँदा भारत गएको छोरा बेपत्ता छ । नाति नातिना छाडेर बुहारी अन्यत्र विवाह गर्न गई । २०७४ सालमा सडक खन्न आएको दशरथचन्द नगरपालिकाको डोजरले भएको घरको आँगनसमेत लगेपछि उठिबास भएको छ ।”
स्थानीय सरकारको डोजरबाट थप पीडित भएको बताउने कृष्ण लावडले दैवले बज्रपात बर्साउँदा स्थानीय सरकारको डोजरले घरको आँगनसमेत सडकमा मिलाइदिएको पीडा सुनाए ।
“जनता आवासका लागि पटक पटक भवन डिभिजन कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म बस्ने घर मिलेन” लवडले भने, “ त्रिपाल ओढेर हिँउद र बर्खा बित्ने गरेको छ । यो पटक पनि नेताहरु भोट माग्न गाउँमा आएका छन् । यसपालि त कसैलाई पनि भोट हाल्दिनँ ।”
बैतडीको प्रसिद्ध घँगारुको लौरो बनाउने राम्रो सीप भए पनि सरकारी तथा गैर सरकारी संस्था कसैले कुनै सहयोग नगरेको उनले बताए ।
घरेलु विकास समिति र स्थानीय सरकारले लौरो बनाउन मेसिन औजार सहयोग गरे सेना र प्रहरीले प्रयोग गर्ने छडी बनाउने धाको रहेको कृष्ण लावडले बताए । दलितका नाममा खुलेका संस्थासँग औजार मेसिनको माग गरे पनि सहयोग नगरेको उनले बताए ।
प्रतिक्रिया राख्नुहोस्