श्रीलंकामा जारी साफ यू-१७ : नेपाल सेमिफाइनलमा

बुटवल । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।नेपालको जितमा उनेश बुढाथोकी र सिमान्त थापाले एक एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए ।खेलको १३ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।

५७ औं मिनेटमा सिमान्तले गोल गर्दा नेपाल २-० ले अघि रह्यो ।खेलको ६८ औं मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काएपनि नेपाल २-१ ले विजयी भयो ।यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ ।लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।समूह 'बी' मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ ।

नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ ।  अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।