बुटवल । पछिल्लो समय अत्यधिक महँगिएको कागतीको मूल्य लगातार घटेको छ। दुई दिनमा कागतीको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँले घटेको छ। घट्ने क्रम विश्लेषण गर्दा दैनिक मूल्यसूचीअनुसार एक सातामा २ सय रुपैयाँले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
जेठ लागेपछि कागतीको मूल्य क्रमिक घट्न थालेको छ। लामो समयदेखि कागतीको मूल्य प्रतिकेजी ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पुगेको थियो। बजारमा आयातित कागतीले बजारको माग धान्ने गरेको छ। चुनावका कारण ५ दिन भन्सार बन्द हुँदा आयात रोकिएको थियो।
अहिले आयात सहज भएपछि कागतीको आपूर्ति बढ्न थालेको छ। पछिल्लोपटक थोक बजारमै मूल्यमा गिरावट आएको छ। गत वैशाख २८ गते कागतीको थोक मूल्य प्रतिकेजी ५० रुपैयाँ घटेर ४ सय भएको थियो। अब कागतीको सिजन सुरु हुन थालेपछि मूल्य घट्ने व्यवसायीहरुको भनाइ छ।
त्यसयता जेठ १ गते मूल्य न्युनतम ३ सयदेखि अधिकतम ३५० रुपैयाँमा आइपुगेको थियो। २ गते पुनः प्रतिकेजी एक सय रुपैयाँ घटेको थियो। यतिबेला थोकमै प्रतिकेजी २ सय ५० रुपैयाँ भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको मूल्यसूचीमा उल्लेख छ। बजारमा कागती गत फागुनबाट महँगिन थालेको थियो।
गर्मी सुरु भएपछि कागतीको खपत बढ्ने गर्छ। तर उत्पादन कम हुने भएकाले माग अनुसारको आपूर्ति हुँदैन। यस समयमा भारतबाट आयात पनि कम हुने गर्छ। यो वर्ष भारतमै कागतीको उत्पादन कम भएकोले मूल्य बढेर आएको व्यवसायीहरुले बताएका थिए।
स्वदेशी उत्पादन कागतीले बजारको माग धान्न मुस्किल भएपछि हरेक वर्ष भारतबाट ठूलो परिमाणमा कागती आयात हुने गरेको छ। चालु आर्थिक वर्ष भारतबाट ६४ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ८४ लाख केजीभन्दा बढी आयात भएको छ। गत वर्ष ९१ करोड ९६ लाख रुपैयाँको १ करोड २५ लाख केजी कागती आयात भएको भन्सार विभागको तथ्यांकमा छ।
प्रतिक्रिया राख्नुहोस्