नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोलासित नेपालप्रेृसका पत्रकार मात्रिका पौडेलले गरेको कुराकानी :
– जताततै एमसीसीको विरोध भइरहेका बेला तपाईंहरूले पनि राजनीतिमा स्थापित हुनका लागि भल छोप्ने मौका खोज्नुभएको हो ?
हामीले भल छोप्न खोजका होइनौ । एमसीसीको विरोध नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुरूदेखि नै गर्दै आएको हो । हामीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा पनि हाम्रो पार्टीको अन्तर्राष्ट्रिय विभागले सुरक्षा विज्ञ तथा अन्तराष्ट्रिय विज्ञलाई बोलाएर एउटा ठूलो अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यहाँ बौद्धिक मान्छे पनि आएका थिए । जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका अवकास पाएका व्यक्तिलाई पनि बोलाएर छलफल गरेका थियौं ।
– सेना-प्रहरीका उच्चपदस्थ व्यक्ति औपचारिकरूपमा आएर छलफल गरेका थिए कि अनौपचारिकरूपमा ?
औपचारिक होइन, अनौपचारिक छलफलमा आएका हुन् । हामीले बोलाएको बैठकमा उनीहरू आएपछि किन आए भनेर बहस पनि भयो । उनीहरूलाई स्पष्टीकरण पनि सोधियो ।
– तपाईंहरूका कारणले उनीहरूलाई अफ्ठयारो पनि सृजना भयो त्यसो भए ?
त्यस्तै त्यस्तै भयो । जे भए पनि त्यसले एउटा देशव्यापी बहस सृजना गर्यो । त्यसपछि एमसीसीका विरुद्धमा सबैले आवाज उठान थाले । र अहिले यो अवस्था सिर्जना भयो । अघि तपाईंले भनेकोजस्तो हामीले स्थापित हुन र भल छोप्नका लागि गरेका होइनौ । हाम्रो पूर्वनिर्धारित कार्यक्रम नै हो ।
– एमसीसी पारित गरियो भने ठेगान लगाउने भन्दै आउनुभएको छ । यो ठेगान लगाउने भनेको के हो ?
तपाईंले सही भन्नुभएको हो । हामीले ठेगान लगाउने नै भनेका छौं । राष्ट्रघातीलाई त ठेगान लगाउन जरुरी नै छ नि । यो देशभित्र माफियाको जालो छ । जसले देशलाई कंगाल बनाउन खोजिरहेको छ । यस्ता माफियालाई घरबाट थुतेर कालोमोसो दलेर सडकमा घुमाएर संघीय संसद भवन अगाडि नै नांगेझार पार्ने हाम्रो पार्टीको योजना छ ।
– तपाईं प्रचण्डसँग हुँदा पनि अन्तर्राष्ट्रिय विभागमा हुनुहुन्थ्यो । अहिले पनि त्यही विभाग सम्हालिरहनुभएको छ । वास्तवमा एमसीसीमा कुन पार्टीका कुन-कुन व्यक्तिको संलग्नता छ ?
यसमा त हामीले भनिरहन जरुरी नै छैन । सबैलाई जानकारी भएकै कुरा हो नि । अहिले सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको तत्कालीन सरकार भएकै बेला अहिलेका कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले गर्नुभएको सम्झौता हो । जानेर हो वा नजानेर के कारणले गरेको हो भन्ने अझै पनि बुझेका छैनौं । बुझ्दै पनि छौं । नजानेर गरेको भए खारेज गर्नुस् भनेर हामीले भन्दै आएका छौं र भनिरहेका पनि छौं । जे-जसरी गरेको भए पनि अब सच्चिनुपर्छ भन्ने हो । अहिले पनि कांग्रेसबाहेक एमसीसीलाई कसैले पनि समर्थन नगर्ने अवस्था छ । केही न केही रूपमा सबै पार्टी जोडिएका नै छन् । तर जो जोडिए पनि पास हुने सम्भावना एदमै कम छ ।
– अमेरिकासँग नेपालको पुरानो सम्बन्ध छ । उनीहरू नेपालले नमान्ने हो भने फिर्ता लिन पनि तयार छन् । तर एमसीसी फिर्ता गर्दा अन्तराष्ट्रिय मञ्चमा नेपाललाई समस्या नपर्ला ?
त्यस्तो केही पनि फरक पर्दैन । एमसीसी पास नभएर खारेज भयो भने नेपालाई अन्तर्राष्ट्रिय मञ्चमा समस्या होइन कि नेपाल सगरमाथाजस्तो अग्लो र अटल राष्ट्रका रुपमा स्थापित हुन्छ । हामीले सोचेजस्तो अमेरिकासँग सम्बन्ध बिग्रिन्छ भनिएको छ नि, त्यस्तो केही पनि हुँदैन । अमेरिकासँगको सम्बन्ध त अहिलेको भन्दा झन् हजारौं गुणा राम्रो हुन्छ ।
– अमेरिकी अधिकारीहरू नेपाल आएर सबै नेतासँग भेटेर पास गर्न आग्रह गरिरहेका छन् । पास नगर्दा रिसाउँदैनन् ?
पक्कै पनि रिसाउदैँनन् । यसबाट सच्चा मित्र रहेछन् भन्ने बुझिन्छ । एमसीसी आयो भनेर भारत र चीनलाई टुक्रा पार्ने हो । अमेरिका आफैं पनि अहिले विभाजित नै छ । उनीहरू आफैं विभाजित भएको अवस्थामा नेपालबाट एमसीसी खारेज गर्ने हो भने अमेरिकालाई पनि ठूलो राहत महसुस हुन्छ ।
– अमेरिकी सेना नेपालमा आउँछ भन्ने डर तपाईंहरूले फैलाइरहनुभएको छ । अहिले पनि तालिम लिन त अमेरिकी सेना आइरहेकै छ नि ? एमसीसी पास भएमात्र सेना आउँछ भन्ने हो र ?
आउने त आउने, कसरी र कुन प्रयोजनका लागि आउने भन्ने मुख्य कुरा हो । एमसीसीको दस्तावेजले नै भन्छ कि अमेरिकी सेना आउँछ । भारतलाई नियन्त्रण गर्न आउँछ र चीनमाथि आक्रमण गर्न आउँछ भन्ने कुरा प्रमुख हो ।
– एमसीसीका बारेमा अहिले जुन बहस भइरहेको छ नि । यो हेर्दा पास हुन्छ जस्तो लागिरहेको छ यहाँहरूलाई ?
पक्कै पनि हुँदैन । फेरि हुनै सक्दैन भनेर पनि भन्न सकिन्न । अहिलेको संसदीय व्यवस्थाका नेता र पार्टीको भर हुँदैन । तर, हाम्रो पार्टीले पनि विरोध गरिरहेको हुनाले नहुने मुख्य एउटा कारण यो पनि हो । नेपाली काँग्रेसभित्रै पनि एमसीसीको विरोध भइरहेको छ । एमालेभित्र पनि गर्नुहुन्न भन्ने पक्ष छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पनि पास नगर्ने पक्षमा हुनुहन्छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पास गर्नुहुँदैन भन्ने लाइन रहेको बुझिएको छ । किनभने देउवालाई पनि पास गर्यो भने चुनाव हारिन्छ भन्ने डर छ । प्रचण्डले पनि पास नगर्ने भनिरहनुभएको छ ।
तर, यो बीचमा सरकारले जुन एमसीसीलाई प्रश्न लेखेर जवाफ माग्यो, यो एकदमै राम्रो गरेको छ । यसप्रति हाम्रो पार्टीको तर्फबाट धन्यवाद पनि छ । तर, पास हुँदैन भनेर सधैँभरीका लागि टर् भन्ने चाहीँ होइन । त्यसका लागि सबै एकताबद्ध भएर एमसीसीलाई खोरज गर्नुपर्छ । पास भयो भने पनि सबै एकजुट भएर वृहत आन्दालन गर्न तयार हुनुपर्छ ।
– एमसीसीबारेमा यहाँहरूको गठबन्धनको एउटै स्वर देखिएको छ । यसै बेला उपेन्द्र यादवदेखि विप्लवसम्म एक हुने भन्ने पनि हल्ला छ । कति सत्य हो ?
यसलाई हामीले स्वागत नै गरेका छौं । किनभने कम्युनिष्ट पार्टी एक हुनु राम्रो हो । पार्टी विघटन भएर एक हुन खोज्नु नराम्रो होइन । तर, संसदीय व्यवस्थाभित्र एकता भयो भने फेरि पनि उही पुरानै अवस्थामा गइन्छ । यो पार्टी र व्यक्तिको समस्याभन्दा पनि दलाल पुजीँवादी संसदीय व्यवस्था नै प्रमुख समस्या हो । यो संसदीय व्यवस्था समाप्त गरौं । अनि एकता गरौं भन्ने हाम्रो लाईन हो ।
– तपाईंले भनेजस्तो भन्दा पनि केपी ओलीलाई समाप्त गर्नका लागि संसदीय व्यवस्थामा नै एक भएर चुनाव गरौ भन्ने कुरा बाहिर आइरहेको छ नि ?
त्यसो त हुनै सक्दैन । संसदीय व्यवस्थामा त धेरैपटक एकता भइसक्यो नि । यसअघि पनि एकता भएको त हो नि । कम्युनिष्टको एकतापछि अब समाजवाद आउँछ भनेको त हो नि । तर, तपाईंले देखिहाल्नुभयो नि अवस्था कहाँ पुग्यो । त्यसैले संसदीय व्यवस्थामा पार्टी एकता जतिपटक गरे पनि फर्किने फेरी उही पुरानै अवस्थामा हो । एकतामा त्यो विकल्प हुन सक्दैन । हामी यसमा प्रष्ट छौं ।
– त्यस्तो भए एकता पनि नगर्ने, निर्वाचन आयोगमा दर्ता पनि नहुने र चुनाव पनि नलड्ने हो त ?
एकता नगर्ने, निर्वाचन आयोगमा दर्ता नहुने र चुनाव नलड्ने भन्ने त होइन, तर अहिलेको दलालबादी संसदीय प्रणालीमा हामी यो ३ वटै प्रक्रियामा सहभागी हुदैँनौ । भन्न त सबै पार्टीले समाजवादउन्मुखको कुरा गरिरहेका छन् । देउवा, ओली, प्रचण्ड, नेपाल सबैले समाजवाद उन्मुख नै भनिरहेका छन् नि । तर, समाजवादउन्मुख व्यवस्थाको बारेमा सबैले व्याख्या गर्नुपर्यो ।
– अन्य पार्टीले त केपी ओलीविरुद्धको एकता भनेको होइन र ?
त्यो त हुनै सक्दैन । त्यसमा हामी सहभागी पनि हुन सक्दैनौ । यस बाटोमा गएर कोही पनि कहिँ पुग्न सक्दैन ।
– पार्टी दर्ता पनि नगर्ने, एकता पनि नगर्ने र चुनावमा पनि नजाने भए किन नेताहरूसँग भेटघाट गरिहनुभएको छ ?
यो सबै समाजवादी व्यवस्था ल्याउनका लागि नै हो । समाजवादी व्यवस्थाबारे पार्टीका नेताको धारणा र व्याख्या बुझ्नका लागि हो र उनीहरूलाई त्यो बाटो अपनाउने हो भने सहकार्य गर्नका लागि र एकताका लागि हो ।
– त्यो भए निर्वाचन आयोगमा दर्ता नै नहुने हो ?
गर्ने, तर मैले अघि भनेका सबै कुरा पूरा गरेरमात्र गर्ने ।
राजनीतिक दल र नेता भनेको राज्यसत्ता चलाउन र शासन गर्नका लागि हो । तपाईंहरू दर्ता पनि नहुने, एकता पनि नगर्ने र चुनावमा पनि नजाने हो भने त तपाईंहरूको नेता कार्यकर्ता त जान्छन् नि चुनावमा विभिन्न पार्टीमा चुनाव लड्नका लागि ?
होइन, हाम्रो पार्टीले चुनावमा नजाने कहाँ भनेको छ र । हामी पनि त चुनावमा जान तयार नै छौ नि । चुनावमा त जाने तर जनमत संग्रहका लागि जाने हो चुनावमा । यतिमात्र नभइ समाजवादी व्यवस्थाका लागि चुनावमा जाने हो । सयौं वर्षदेखि संसदीय व्यवस्थाको चुनाव त हामी लडेरै थाकी नै सक्यौ नि । पुरानो इतिहास हेर्नुस् न । यसले कुनै पनि परिवर्तन ल्याएन र ल्याउन सक्दैन पनि । हामीले १० वर्षे जनयुद्ध गर्यौं । त्यसले पनि केही गर्न सकेन । यसले संसदीय व्यवस्था गलत बाटो भयो भनेर प्रमाणित भइसकेको छ नि ।
– संसदीय व्यवस्था कि समाजवादी व्यवस्था भनेर जनमत संग्रह गर्न खोज्दा भोली राजतन्त्र कि गणतन्त्र ? हिन्दूराष्ट्र कि धर्मनिरपेक्ष राष्ट्र भनेर पनि जनमत संग्रह गर्ने कुरा आउला नि ?
त्यस्तो होइन । नयाँतिर जाने कि पछाडि फर्किने भन्ने कुरा हो नि त । यो त विषयान्तर गर्ने कुरामात्र हो ।
– यसअघि जस्तो मोर्चा बनाएर निर्वाचन नलड्ने नै हो त ?
त्यसका लागि त अरु पार्टी र नेता छँदै छन् नि । हामी किन चाहियो र ? हाम्रो कुरा त यति मात्र हो कि अहिलेको दलालबादी संसदीय व्यवस्था खारेज गरेर समाजवादी व्यवस्थाको बाटो नै उपयुक्त हो र त्यतातिर लागौ भन्ने हाम्रो मुख्य कुरा हो ।
– त्यसो भए अबको निर्वाचनमा तपाईंको पार्टीको भूमिका के हुन्छ ? बहिष्कार वा सहभागिता ?
निर्वाचन हुनुअघि के हुन्छ भन्ने कुराले अर्थ राख्छ । हामीले भनेको व्यवस्थाको कुरा भयो र जनमत संग्रहको तयारी भयो भने हामी पनि चुनावमा जान्छौ । तर, चुनावमा यसअघिकै जसरी जादैँन । यो व्यवस्थाप्रति त नागरिक मात्र होइन, सबै राजनीतिक दल र नेता नै हैरान भइसकेका छन् नि ।
– कतिपय राजनीतिक दल र नेताहरू त यसमै रमाइलो पनि महसुस गरिरहेका होलान् नि ?
हो, तपाईंले भनेजस्तो कतिपय नेताहरू रमाइलो पनि महसुस गरिरहेका छन् । जो सधैँ सत्ता र कुर्सीमा छन् उनीहरूले त रमाइलो महसुस गर्ने नै भए नि । जस्तो देउवा, ओली प्रचण्डले रमाइलो महसुस पनि गरिरहेका होलान् । तर, ती पार्टीभित्रका अधिकांस नेता तथा कार्यकर्ता र जनता भने संसदीय व्यवस्थाप्रति हैरान नै भइसकेका छन् । हामीसँगको छलफल तथा भेटघाटमा हामीले त्यो पाएका छौं । उनीहरूले भनिरहेका पनि छन् हामीसँग । धेरै नेता तथा कार्यकर्ता र जनता हैरान भएपछि समाजवादतर्फको दिशातर्फ जान तयार नै छन् ।
– तपाईंहरू अहिलेकै संविधानमा टेकेर समाजवादतर्फको दिशामा जान र जनमत संग्रह गर्न तयार हो त्यसो भए ?
त्यो फेरि होइन । हामी त्यतातिर जान खोजेका छैनौ । समाजवादतर्फ र जनमतसंग्रहतर्फ जान भनेको अहिलेको संविधानमा टेकेर जाने भनेको होइन । यसमा सबैले स्पष्ट भए हुन्छ । तर जनयुद्धको उपलब्धीको जगमा टेकेर भने जान सकिन्छ ।
– खास पार्टी एकताको कुरा के हो ? तपाईंको नजिक कुन पार्टी र नेता छन् अहिले ?
सबै नेता हाम्रा लागि नजिक र बराबर छन् । कमल थापादेखि शेरबहादुर देउवासम्म सबै हाम्रो नजिक छन् र बराबर पनि छन् । सबै एउटै तहमा छन् ।
– सबैलाई एक तहमा राख्दा प्रचण्डमाथि अन्याय हुँदैन र ?
त्यो उहाँलाई लाग्न सक्छ । तर, हामीलाई अहिले सबै बराबर लाग्छन् । उहाँले त्यो महशुस गर्नुहोला । उहाँको त्यो आफ्नै कारणले पनि त्यस्तो अवस्था आएको हुनसक्छ । हाम्रो दृष्टिकोण सबैप्रति एउटै नै छ । हाम्रा लागि अहिले कोही पार्टी र नेता फरक छैनन् ।
-तपाईंहरूले सरकार ढल्नै लागेको बेला केपी ओलीसँग किन सम्झौता गर्न पुग्नुभयो भन्ने प्रश्न पनि छन् । केपी ओलीलाई नै जस दिलाउनका लागि हो त ?
होइन, यो हामीले कसैलाई जस लिन र लिनका लागि गरेका होइनौ । यसमा कसैलाई नाफा र कसलाई घाटा भन्ने पनि छैन । केपी ओली छलफलद्वारा राजनीतिक समस्या समाधान गर्न तयार हुनुभयो । उहाँले शुरूदेखि नै गर्न खोजेको हो ।
वार्ता टोली नै गठन गरेर अघि बढ्नुभएको हो । त्यतिबेला देखि नै हामीले एक खालको छलफल गरिरहेका थियौं । जुन बेला हामीले सम्झौता गर्यौं त्यो बेलासम्म आइपुग्दा ठिक समय आइपुग्यो र गर्यौं । त्यो एउटा संयोगमात्र हो ।
– भनेपछि भोलि के हुन्छ के हुन्छ, अहिले ओली सरकार ढल्न लागेको बेला मौका यही हो भनेर हो त ?
फेरि त्यस्तो भने होइन । यसमा कसैलाई भ्रममा नपर्न सबैलाई अनुरोध पनि छ । हामीले शान्तिपूर्ण आन्दोलन र विरोध गरिहेका बेला सरकारले द्वन्द्व गर्न खोजिरहेको हामीलाई महसुस भयो । हामी राजनीतिक मुद्दामा मात्र गएका थियौ । देशलाई मुठभेडमा पुर्याउनु हुँदैन भनेर हामी सम्झौता गर्न आइपुगेका हौं ।
-त्यस्तो भए तपाईंहरूको अबको नीति के हो त ?
हाम्रो मुद्दा भनेको समाजवादी व्यवस्था नै हो । अहिलेको संविधानले पनि समाजवादउन्मुख भनेको छ । माधव नेपालले पनि समाजवाद भनिरहनुभएको छ र पार्टीको नाम नै त्यही राख्नुभएको छ । यो पनि एउटा संकेत हो कि सबै समादवादको पक्षमा छन् भन्ने कुरा ।
– त्यसो भए तपाईंहरू माओवादी कि समाजवादी ?
माओवादी भनेकै समाजवादी हो । त्यो एउटै विस्तृत दर्शन हो । त्यसैले समाजवादी नै माओवादी हो र माओवादी नै समाजवादी हो यसमा सबैले प्रष्ट हुनुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्