विपत्तिमा लाको घाउ

जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसी
हुर्कियौं, खेल्यौं साइनो गाँस्दै संगी साथी अघिपछि
माया लाग्छ आफ्नै माटो, जन्मभूमि प्यारो ठाउँ
अझ पनि दुखिराछ विपत्तिमा लाको घाउ

गड्याङ गुडङ आकाशबाट दक्र्यो पानी दररर
त्यो कालो रात सम्झिदा नि मुटु काँप्छ थररर
कहाँ भागौं, कहाँ जाउँ, थिएन कहीँ लुक्ने ठाउँ
अझ पनि चहराइराछ विपत्तिमा लाको घाउ

कहाँ गयो घर गोठ, कहाँ भेटुँ आफन्तजन
बाटो घाटो, विद्यालय, बेपत्ता भो पशु धन
बुढाबुढी बालबच्चा अलपत्र थे बस्तुभाउ
अझ पनि चस्किराछ विपत्तिमा लाको घाउ

टाल्न खोज्छु एकातिर, अर्कोतिर फाटिदिन्छ
हामी दुःखी गरिबलाई नै प्रकृतिले लाठी दिन्छ
माया लाग्छ के गर्नु र ! जन्मभूमि प्यारो गाउँ
अझ पनि बल्झिराछ विपत्तिमा लाको घाउ । 

(स्रष्टा सिंजाली सिद्ध आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ । सिंजालीले २०७९ साउन ७ गते ल्हुम्पेक कला तथा साहित्य यात्राद्धारा आयोजित ‘पहिरोको पहिरन’ बिषय कार्यक्रममा यो सिर्जना प्रस्तुत गर्नुभएको हो ।) 

Photo : Janabato.com