धर्म, समाज र हिंसा

धर्मको शाब्दिक अर्थ धारण गर्नु, लिनु, मान्नु वा त्यसको घेरामा रहनु भन्ने हुन्छ। धर्मलाई कुनै वस्तुसँग सम्बन्धित गरेर अथ्र्याउने हो भने यसले त्यो विषय वा वस्तुको गुण वा विशेषतालाई जनाउँछ। जस्तैः पानीको धर्म तलतिर बग्नु, आगोको धर्म तातो हुनु र हिउँको धर्म चिसो हुनु हो। यो भयो, धर्मको वस्तुवादी अर्थ। धर्मलाई समाज कल्याण र सामाजिक उपकारका कार्यसँग जोडेर पनि व्याख्या गरेको पाइन्छ। जस्तैः पार्टी पौवा बनाउनु, चौतारो बनाउनु, कुवा पोखरी बनाउनुलाई पनि धार्मिक कार्य मानिन्छ। धर्मको बारेमा गरिने यसप्रकारको वस्तुसम्मत तथा समाजपरक व्याख्यासँग असहमत हुनुपर्ने कुनै कारण रहँदैन। यद्यपि यस्ता सामाजिक कामलाई धर्मको बर्को अढाउनुपर्ने आवश्यकता पनि छैन।

धर्मको नाममा विभेद र हिंसा
हामीले यहाँ चर्चा गर्न खोजेको धर्मको भावनात्मक मनोवैज्ञानिक पाटो हो। यस मनोविज्ञानले गर्दा मान्छे जहिले पनि एउटा अदृश्य भयद्वारा शासित भइरहेको हुन्छ। ऊ आफूले आफैंलाई यति कमजोर र निरिह ठानिरहेको हुन्छ कि हरदम कुनै अप्राप्य र अवास्तविक तागतमाथि आफ्नो अमूल्य जीवन सुम्पिदिएको हुन्छ। उसले आफूभित्रको अनन्त जीवन शक्तिलाई चिन्न सक्दैन। समाजमा धर्मको नाममा आज जे प्रचलित छ, त्यो भनेको जीवनभर अदृश्य शक्तिमाथि विश्वास गर्दै मृत्युपछि अनन्त सुखभोगको भ्रममा विवेक, बुद्धि, तर्क र विज्ञानलाई निषेध गर्ने कुरा हो। यो भनेको ‘अरेअरे’को पछि लागेर भौँतारिने प्रवृत्ति हो।

हो यही कुरालाई ध्यानमा राखेर नै महान् दार्शनिक कार्ल माक्र्सले ‘धर्म अफिम हो’ र यो ‘उल्टो विश्वचेतना हो’ भनेका छन्। यस्तै भ्रमले गर्दा हामी सत्यको अन्वेषण गर्नेतिर नलागी जीवनलाई कष्टपूर्ण बनाउने र समाजमा पनि अन्धविश्वास फैलाउने काममा लागेका हुन्छौँ। धर्मको यस्तो स्वरुपले समाजमा एकताभन्दा पनि विभाजन र विभेद बढाउने कुरा नै बढी देखिएको छ।

प्रकृति वा भौतिक जगत्का नियमहरूलाई बुझ्न नसक्दा वा बुझ्ने प्रक्रियामा पस्न नखोज्दा आदिम सभ्यताको मान्छेले आफ्नो सीमित तार्किक क्षमताको आधारमा कुनै अदृश्य परमशक्तिको कल्पना ग¥यो। जसलाई हजारौं वर्षदेखि मानवीय अज्ञानताबाट कल्पित ‘परमचैतन्य शक्ति’ भनिन्छ, त्यो अमूर्त भावमात्र हो। मान्छेमा अज्ञानता, भ्रम, भय वा स्वार्थ आदिका आधारमा व्यक्तिपिच्छे फरकफरक काल्पनिक बिम्ब तयार हुन जान्छ। जुन कुरा कहीँ कतै कहिल्यै पनि प्रत्यक्ष भएको छैन, जसको अस्तित्वलाई कसैले पुष्टि गर्न सक्दैन र जसलाई कसैले देखेजानेको पनि छैन, त्यसैको खोजीमा भड्किरहेको छ, मान्छे। फेरि पनि मान्छे त्यही भ्रमको पछाडि दौडिरहेको छ, बहस गरिरहेको छ, मरामार गरिरहेको छ, उधुमका युद्ध चलिरहेको छ र शान्ति तथा अहिंसाको नाममा ठूलठूला रक्तपात मच्चाइरहेको छ।

रहस्यवादको उपज
मान्छे जब केही तर्क र प्रश्न गर्न सक्ने भयो, उसका अगाडि अनन्त प्रश्नहरू तेर्सिन थाले। उसको शरिरमाथि अनन्त आकाश थियो। त्यसमा गन्न सकिने चन्द्र र सूर्यमात्र थिएनन्, अनन्त तारागण पनि थिए। सफा आकाशमा एकैछिनमा बादलको मुस्लो आइपुग्थ्यो, फेरि एकैछिनमा भयानक गर्जन चट्याङ र घनघोर वर्षा पनि हुन्थ्यो। उसलाई लाग्यो, कुनै अदृश्य शक्तिले लुकेर सबैमाथि नियन्त्रण गरिरहेको खण्डमा उससँग क्रुद्ध भएको त्यस शक्तिले उसकै टाउकोमा पनि हिउँका डल्ला बर्साउन सक्छ वा अग्न्यास्त्र (चट्याङ) हानेर ठहरै पार्न सक्छ। कहिले आकाश शान्त हुन्छ त कहिले एकैछिनमा भयानक आँधीबेहरी आउँछ।

झरना, खोला र नदीहरूको पानी बगेको बग्यैै गर्छ, तर फर्केर कहिल्यै आउँदैन। एउटा नङको चरमा अटाउन सक्ने बीउ माटोमा मिल्छ र त्यो विशाल वर वा पिपलको रुख बनेर ठडिन्छ। अथवा माटोमा पोखिएको अन्नको एउटा सानो दानाबाट हजारौँ दाना फल्छन्। नारी र पुरुषको सङ्गमबाट अर्को नयाँ मान्छे आउँछ। तर, त्यस्तो मान्छेका लागि अगाडिदेखि नै आमाको छातीमा खाना तयार हुन्छ।

मरेका आफन्तहरू सपनामा जिउँदो जस्तै बनेर आउँछन् र आफ्ना दुःख र भोग प्यासका गुनासाहरू सुनाउँछन्। यस्ता कुराहरूबाट उसमा भ्रम सिर्जना हुन गयो। पक्कै मृत्युपछि पनि हामी अर्को तरिकाले बाँचिरहेका हुनेरहेछौँ। उसले आफ्नै बारेमा पनि प्रश्न जोड्न पुग्यो, “म कहाँबाट कसरी आएँ र जाने कहाँ होला?” यो यस्ता प्रश्नहरू हुन् जसबारे आजसम्म आइपुग्दा पनि विज्ञानले दिएका जवाफहरूमा अझै अधिकांश मान्छेहरूले चित्त बुझाउन सकेका छैनन्। यसरी अज्ञानता, रहस्य, आश्चर्य, भय र स्वार्थ आदिको समीकृत रुप होः कल्पित भगवान, परमशक्ति वा परमेश्वर।

अनि त्यसैलाई खुसी पार्न गरिने कृत्य हो, समाजमा प्रचलित आजको धर्म। मानव सभ्यताको हजारौँ अझ लाखौँ वर्षको यात्रामा धर्म अमूर्तको अमूर्त नै रहेको हुनुपर्छ। तर, समय बित्दै जाँदा मान्छेका स्वार्थहरू जोडिँदै जाँदा यसलाई आ–आफ्ना जाति, वर्ग र समुदायसँग जोडेर मूर्तीकृत गर्न थालियो। त्यतिमात्र होइन, यसै दायराभित्र मान्छेले आ–आफ्ना जातीय तथा स्थानीय परम्परा, रीति, भाषा तथा वेशभूषामा आज पनि नयाँ नयाँ धर्म र सम्प्रदायहरू जन्माइरहेको छ।

धर्म : शोषण र शासनको हतियार
आज समाजमा धर्मको नाममा जे प्रचलित छ, त्यो एक प्रकारले कुनै मादक पदार्थभन्दा फरक छैन। यसको मात लागेपछि मान्छे मदहोस हुन थाल्छ अनि भ्रम र यथार्थबीचको पृथकता देख्न छोड्दछ। विशेषतः समाजमा कथित अवतारी पुरुषहरूको उदय हुन थालेपछि र कुनै खास समुदाय विशेषको आग्रह तथा वर्ग विशेषको स्वार्थ बन्न थालेपछि भएका विश्वका ठूलठूला युद्ध र काटमारहरू धर्मकै आडमा भएका छन्।

लौ मानिलिऊँ, विश्वमा प्रचलित हरेक धार्मिक समूहका प्रणेताहरूले आफू बाँचेको समकालीन समाजको हितलाई केन्द्रमा राखेर नै नयाँ मान्यताहरू खडा गरे होलान्। तर पुरेत, पादरी, मुल्ला, लामा, महन्त, मठाधीश र शासकको हतियार बनेपछि यसको समाज कल्याणमुखी सार सदाका लागि समाप्त भयो। ऋषि महर्षि, बुद्ध इसामसीह, मुहम्मद, लाओत्से, कम्फुसियस, जरथु्रस्त आदि तत्कालीन समाजिक ज्ञान तथा अन्तरविरोध र वर्गसंघर्षको वस्तुस्थितिले जन्माएका प्रतिभाहरू थिए।

यद्यपि जुनसुकै धर्म र आध्यात्मिक दर्शनको टेक्ने आधारभूमि तत्कालीन समाज नै हो र ती सबैको सारतत्व अदृश्य शक्तिमाथिको विश्वास नै हो, जसमध्ये बुद्धलाई अपवादमा राख्न सकिन्छ। तथापि तत्कालीन शाकहरूको अत्याचार, शोषण, उत्पीडत तथा समाजिक विसङगतिका विरुद्ध समाज सुधारको उद्देश्यले नै प्राचीन धर्महरूको उदय भएको पाइन्छ। अन्ततः त्यो शासक वर्गको शोषण र शासनको नयाँ औजारबाहेक केही रहेन।

हरेक धर्माधिकारी एवम् तिनका अनुयायीहरूले आ–आफ्नो धर्मलाई सबैभन्दा बढी शान्ति, अहिंसा एवम् लोकोद्वारक मार्गको रुपमा चित्रण गर्दछन्। उनीहरू के दाबी गर्छन् भने आफ्नो धर्म नै एकमात्र परमेश्वरको आदेशबाट चलेको धर्म हो र बाँकी सबै झुट्टा बकवासमात्र हुन्। हरेक धर्माधिकारीको दाबी हुन्छ, अरु सबै हाम्रै सम्प्रदायको छातामुनि आएमात्र पापबाट मुक्ति सम्भव छ।

आफ्नो छातामुनि ल्याउनुको उद्देश्यको पछाडि धर्मगुरु र शासक वर्गका आ–आफ्नै र साझा स्वार्थहरू समेत जोडिएका छन्। अर्थात्, शासकहरू धर्मको आवरणमा राज्यमा बलियो पकड जमाउँदै जनतामाथि एकछत्र शासन चलाउन चाहन्छन्। त्यस्तै धार्मिक गुरुहरू पनि संगठन बढाएर समाजमा आफ्नो वर्चस्व जमाउन चाहन्छन्। फेरि दुवै मिलेर देश र जनतामाथि मजबुत हैकम जमाउन चाहन्छन्। यस्तो अनुभव हामी आफैंले विगतमा भोगेर आएका छौँ।

व्यवस्था फेरियो, संस्कार फेरिएन
हिजोसम्मको नेपालका राज्य हिन्दु अधिराज्य राजधर्म हिन्दु सनातन धर्म र शासक पनि हिन्दु राजा थिए। यो स्थितिलाई नै बलियो चिरस्थायी बनाउन नेपालका थुप्रै धर्मगुरु र धार्मिक संस्थाहरू पछिल्लो दिनसम्म पनि कम्मर कसेरै लागे। अब भने राजतन्त्र हटिसकेको छ। तर, अहिले पनि कतिपय पुराना मठमन्दिरका प्रवेशद्वारमा वा तिनका भित्ताहरूमा राजारानीका जयगानका नाराहरू कुँदिएका भेटिन्छन्।

हाम्रा धार्मिक ग्रन्थहरूमा राजा विष्णुका अवतार भन्ने प्रमाणहरू यत्रतत्र कायमै छन्। यहाँका मठ र मठाधीशहरूको निमन्त्रणामा बर्सेनि सयौँ रङगीविरङगी भारतीय धार्मिक बाबाहरू आउँछन् र मस्तिष्कमा एउटा अर्को नयाँ धार्मिक भ्रमको राँको सल्काइदिन्छन्। के हामी आफैँले विगत र वर्तमानमा पनि यस्तै स्थिति भोग्दै आएका छैनौँ र? अहिले पनि पूर्व राजारानीलाई अनेकथरी यज्ञयज्ञादि, मठ मन्दिर एवम् धार्मिक समारोहमा बोलाएर भव्य स्वागत सत्कार गर्ने गरेको देखिन्छ।

धर्म र पापको प्रचलित अर्थसँग पनि जोडेर हेर्ने हो भने विगतमा र आज पनि यिनका क्रियाकलापहरू उदाङ्गै छन्। सामन्ती जनविरोधी संस्कृतिका वाहकहरूको यसप्रकारको संयुक्त मोर्चा सांस्कृतिक क्षेत्रबाट अझै पनि जनताको पकड जमाइरहने र समाजलाई समाजिक सांस्कृतिक रुपान्तरण हुन नदिने उद्देश्यसँग गाँसिएको छ।

युद्ध र क्रुरता
अब कुरा गरौँ, धर्ममा आधारित हिंसा र अहिंसाको। आफूलाई थोरैतिनो ज्ञान भएसम्म संसारका प्रमुख धर्महरू मूलतः हिंसा र युद्धबाटै विकसित भएको पाइन्छ। हिन्दु धर्मशास्त्रानुसार भगवान् विष्णुले संसारको सृष्टिको निम्ति मधु र कैटभ नामका दुर्य दैत्यहरूको वध गरे अनि ब्रह्माले तिनैको रत्त, मांस, मज्जा र हड्डीबाट सृष्टिको प्रारम्भ गरे भन्ने कथा पुराणहरूमा पाइन्छ। हिन्दु धर्मको कुरा गर्दा अहिले पनि सनातनी धर्म हिंसामा विश्वास गर्दछ। हामीले कसले के भन्छ भनेर होइन, के गर्छ भनेर हेर्नुपर्दछ। वेदमा देवता र दैत्य अथवा दास र मालिकबीचको युद्धमा अथवा तत्कालीन देवताका गणनायकले पचासौँ हजार काला दासहरूलाई मारेको महिमा गाइएको छ।

‘शतक्रतु, वृत्रघ्न’ पनि देवताका राजा इन्द्रका नामहरू हुन्। अघिल्लो शब्दको अर्थ सय यज्ञ गर्ने भन्ने हो। तत्कालीन समयमा पनि यज्ञ पनि युद्ध र हिंसाद्वारा सबै राजारजौटालाई सिध्याएर वा तिनहरूमाथि विजय प्राप्त गरेर अन्तमा घोडा काटेर मासुको हवन एवम् प्रसादी लगाउनुपथ्र्यो। यस्ता यज्ञहरूमा गाईको बली दिइने गोमेध यज्ञ र मान्छेको बलि दिइने नरमेध यज्ञ पर्दथे।

केही वर्षअघि कपिलवस्तुको एउटा अमानवीय घटना सार्वजनिक भएको थियो। एकजना इँटाभट्टा मालिकले भगवानलाई खुसी पारी आफ्नो व्यपारिक फाइदा लिन एक अबोध बालिकालाई भट्टामा लगेर क्रुर ढङ्गले बलि दिएका थिए। धर्मका नाममा हुने गरेका यस्ता बर्बर प्रवृत्तिहरू भारतीय इतिहासमा धेरै नै पढ्न पाइन्छ। भाकल गरेर आफ्नै सन्तान गङगामा बगाइदिने, गरीबका छोराछोरी किनेर देवताहरूलाई बलि दिने, मर्न आँटेका बिरामीलाई लगेर नमरुन्जेल नदीमा डुबाइरहने, मोक्षको नाममा भोकै बसेर आत्महत्या गर्ने, कुवामा हामफालेर मर्ने, सतीको नाममा ज्युँदै जल्ने वा लाउने आदि आत्मपीडिक हिंसात्मक प्रचलनलाई उन्नाइसौँ शताब्दीमा अंग्रेजहरूले कानुन नै बनाएर प्रतिबन्ध लगाएपछि मात्र भारतीय समाजले केही त्राण पाएको थियो। तर, यस्ता घटना अझै पनि पढ्न र सुन्नमा आइरन्छन्।

बलिप्रथाको इतिहास

हिन्दुहरूका पुर्खा घुमन्ते र सिकारी जीवनशैलीसँगै हजारौं वर्षको यात्रा सम्पन्न गरी दक्षिण एसियामा आएर स्थिर एवम् सभ्य जीवनमा प्रवेश गरेका थिए। त्यस्तो जीवनशैलीबाट आएका हुनाले उनीहरू स्वभावतः बढी नै मांसाहारी थिए। पश्चिमोत्तर भारतमा आएर व्यवस्थित सामाजिक जीवन अपनाउनुपूर्व ती पुर्खाहरूसंग केही सङ्ख्यामा प्राकृत देवता र इन्द्र, गणपतिजस्ता युद्धनायक देवताहरू पनि थिए । सायद सिकारी जीवनमा पनि उनीहरूले तिनको नाममा आफ्नो सिकारको एक टुक्रा छुट्याएर राख्ने गर्दथे। किनकि, सिकारमा सफलताप्राप्त हुनुलाई उनीहरूकै आशीर्वाद ठानिन्थ्यो ।

यही मांसाहारी जीवनशैलीलाई अझ व्यवस्थित गर्दै उनीहरूले देवबलिको ढोङ गरेर मासु खाने परम्परालाई व्यवस्थित गरे। हिन्दु धर्ममा ईश्वरवादी र अनीश्वरवादीलाई छुट्याउने मूल कसी के हो भन्ने प्रश्नको जवाफमा भनिएको छ, ‘नास्तिको वेदनिन्दक’ अर्थात् जसले वेदको निन्दा गर्छ, नास्तिक त्यही हो। तर, यथार्थमा वेदले नै बलिप्रथाको ठूलो महिमा गाएको छ। वेदमा घोडा, गाई, भैंसी, सुँगुर आदिको बलि दिएर खानेकुरालाई व्यस्थित गरिएको पाइन्छ। यसो गर्नाले निर्मम पशुहिंसामात्र बढेन, कृषि कार्यमा समेत बाधा पर्न गयो।

राज्यविस्तार तथा धर्मको नाममा भएको यही कुप्रथाविरुद्ध नै गौतम बुद्ध र महावीरले अहिंसाको अभियान चलाएका थिए। एक चरणमा बुद्धको अभियान यति व्यापक एवम् प्रिय भयो कि हिन्दुवादले आत्मरक्षाको स्थिति अनुभव गर्न पुग्यो। त्यसपछि हिन्दुहरूले पनि भन्न थाले, ‘हामी पनि अहिंसावादी नै हौं।’ विशेषतः आठौँ शताब्दीमा शङ्कराचार्यको आगमनपछि हिन्दुहरू पुनः आक्रामक रूपमा प्रस्तुत हुन थाले। तर, वैदिक परम्पराको रक्षा गर्ने नाममा भाकल गर्ने र पशुबलि दिने प्रथा आज पनि हिन्दु धर्ममा व्यापक मात्रामा विद्यमान छ। हुँदाहुँदा यो प्रथाले अब सामाजिक दम्भ र हिंसालाई अत्यन्त क्रुर एवम् बीभत्स रूपमा प्रस्तुत गर्न थालेको छ ।

अन्धविश्वासको जालो
यसलाई बुझ्न टाढा जानुपर्दैन। आफ्नै वरिपरि सबै देख्न सकिन्छ। काठमाण्डौंको कोतमा कालरात्रिको मध्यरातमा एक सय आठको दरले दिइने भिन्नभिन्न पशुपन्छीहरूको बलिदेखि गढीमाई, दुर्गा, काली, कङ्कालिनी आदिको नाममा गरिने बीभत्स पशुबलिले त हाम्रो सभ्यतामाथि नै प्रश्नचिह्न खडा गरेको छ।

यस्तो प्रथालाई शासक वर्गले कसरी साथ दिन्छ भन्ने कुरालाई नेपालका अन्तिम राजा ज्ञानेन्द्रले सत्तारक्षार्थ भारतको आसामस्थित कामाख्या कामरूपमा गई पञ्चबलि दिएको कुरा हामी सबैलाई थाहा छ। हाम्रो देशमा धर्मका नाममा पशुबलि दिइने साना–ठूला धार्मिक पीठहरूको सङ्ख्या हजारौं छन्।

प्रथम ‘कम्युनिस्ट प्रधानमन्त्री’ मनमोहन अधिकारीले समेत आफ्नो कार्यकाल लामो र अकण्टक बनाउन कालो बोकाको बलि दिएर प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। सरकारी कार्यालयमा अहिलेपनि दसैंको नवदुर्गामा बोको काटेर गाडी पूजा गर्ने बजेट कायमै छ।

अन्धविश्वासको सैतानले एरोनटिकल इन्जिनियर तथा पाइलटजस्ता विशुद्ध विज्ञान प्रविधिको क्षेत्रमा काम गर्नेहरूलाई पनि आफ्नो वशमा पार्न सक्दोरहेछ। प्राविधिक कारणले नेपाल वायुसेवा निगमको जेट विमान ग्राउन्डेड हुँदा यो सबै देउताको खेल हो भन्दै त्यसलाई खुसी पार्न तिनले बोकाको बलि दिएको घटना पुरानो भएको छैन, सम्झनामा ताजै छ। राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि पनि यही परम्परालाई निरन्तरता दिइएको छ । पहिले राजाले थेगेको परम्पराको उत्तराधिकारी अहिले राष्ट्रपति भएका/भएकी छन्/छिन्।

शासकले लेखेका इतिहास
त्यसैले हिन्दुवादीहरूले आलङ्कारिक रूपमा सत्य र अहिंसाको जति नै प्रचार गरे पनि यो धर्ममा हिंसाचार एक सामान्य आचरण बनेको छ। हिन्दु धर्मको आधार वेद, पुराण, महाभारत, गीता, मनुस्मृति र अन्य दर्जनौं स्मृतिलगायतका धार्मिक तथा पौराणिक ग्रन्थहरू हुन्। यी सबै ग्रन्थहरू मूलतः तत्कालीन शासक, तिनले मच्चाएका युद्ध र तिनका चर्तीकलाहरूका कथा नै हुन्। पापमाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय एवम् आसुरी सम्पदामाथि दैवी सम्पदाको विजयका निम्ति लडिएको भनिएका यस्ता युद्धहरू भौतिकवादमा विश्वास गर्ने आदिवासीहरूमाथि कथित सभ्य र पवित्र आगन्तुक आर्यजाति वा त्यस्तै शक्तिशाली पक्षबाट थोपरिएका युद्धहरू न हुन्। यी युद्धहरूमा अन्ततः विजयी शासक वर्गलाई नै देवता बनाएर महिमागान गरिएको पाइन्छ ।

हतियारधारी ‘देवीदेवता’
सृष्टि, स्थिति र प्रलयका निमित्त जिम्मेवार मानिएका ब्रह्मा, विष्णु, महेश्वर यी तीनवटै हिन्दु देवताहरू आफैं अस्त्रधारी छन्। ब्रह्मा र विष्णुका हतियार शङख, चक्र, गर्दा र पद्म (कमलको फूल) हुन्। तर, यिनमा कमलको फूलको प्रयोग कहीं पाइँदैन। विष्णुले सुदर्शन चक्रको प्रयोग प्रतिपक्षको संहारको निम्ति अत्यधिक मात्रामा गरेको पाइन्छ । त्यो अचुक अस्त्र दुश्मनलाई प्रहार गरी आफै फर्केर ठेगानमा आउथ्यो भनिन्छ। त्यतिमात्र होइन, विविध अवतारका नाममा कूटनीति र अनेकथरी षड्यन्त्रमार्फत् युद्ध मच्चाउनेमा विष्णु माहिर छन्।

राम र कृष्ण विष्णुका खास अवतार मानिन्छन्। रामले तपस्यारत शूद्र शम्बुकको हत्या गर्नेदेखि आफ्नै मित्र बालीलाई छक्याएर मार्ने काम गरेका छन्। उनले तत्कालीन भौतिक वैज्ञानिक उन्नतिका नायक रावणसँग युद्ध गरी स्वर्णनगरी लङ्कालाई ध्वस्त पारिछोडे। धनुर्वाण रामको खास पहिचान हो। विजेता युद्धनायक रामलाई उनका सेवकहरूले महाकाव्य रामायणद्वारा भगवानको कोटीमा पु¥याउने काम गरे।

कृष्णले गीताको उपदेशको नाममा अर्जुनलाई वशीभूत पारेर भाइभाइको बीचमा महाभारतको विनाशकारी युद्ध गराए। गीतामा श्रीकृष्णले साङख्य, योग आदि दर्शनको व्याख्या गर्दै आत्माको अमरताको पुष्टि गर्नुको एउटै उद्देश्य थियो, जसरी पनि अर्जुनलाई युद्ध र हिंसाका निम्ति उक्साउनु र महाभारतको महायुद्ध भड्काउनु।

त्यतिमात्र होइन, आफ्नै कुलमा अनेकथरी कटुता पैदा गराई आपसमै लडाएर वंश विनाश (यदुवंशीताल) गराए। जहाँसम्म ब्रह्माको कुरा हो, उनको युद्धमा प्रत्यक्ष संलग्नता त्यति देखिदैन। तर, उनी पनि आफ्ना भक्तहरूलाई युद्धमा विजेता बन्नका लागि वरदान दिन र हतियार बाँड्न माहिर छन्। त्यतिखेरको सबैभन्दा प्रभावशाली र खतरनाक अस्त्रको नाम नै ब्रह्मास्त्र थियो। तथापि उनी युद्धमा प्रत्यक्ष नभिड्ने हुनाले उनका मठ मन्दिर र पूजाआजा दुर्लभजस्तै बनेका छन्।

विश्वमा एकाधबाहेक उनका मूर्ति तथा मन्दिर कतै देखिंदैनन्। शिवलाई प्रचलित बोलीमा भोले र भाले पनि भनिन्छ। भालेको अर्थ खतरनाक हतियार भालाधारी। उनको कहिल्यै नछुट्ने हतियार त्रिशूल (तीनवटा भाला जोडिएको हतियार) हो। शिवको अर्को नाम रुद्र पनि हो। यसको अर्थ रिस वा क्रोधको रुप भन्ने हुन्छ। उनी रिसाउँदा आगो ओकल्छन्। उनको यही त्रिशुलधारी रौद्र रुपको पूजाअर्चना वा रुद्री यज्ञ हामीकहाँ सबैभन्दा बढी प्रचलनमा छ।

नारी देवतामा काली, लक्ष्मी र सरस्वती छन्। नेपाल, भारत र समस्त हिन्दुजगतमा सबैभन्दा बढी मानिने पुजिनेमा काली वा दुर्गा छिन्। किनकि, यो देवीको हिंसामा रमाउने रुप हो। नेपालीले दसैँको नवदुर्गामा नौ दिनसम्म चण्डी पाठ गर्दै दुर्गा, काली र महाकालीको पूजा गर्ने प्रचलन व्यापक छ। सिङगो चण्डी पाठमा दुश्मनको रगत पिएर समाप्त गर्ने महाकालीको आराधना छ। पहिले पहिले त यस्ता शक्तिपीठहरूमा नरबलि नै दिइन्थ्यो। अचेल भने बोकाको बलि दिने र नभए कुभिण्डोलाई खुट्टा लाएर पनि हिंसाको अभ्यास गर्ने गरिन्छ।

बर्षेनी लाखौँ पशुबलि यसैको नाममा दिइन्छ। हाम्रा समस्त धार्मिक ग्रन्थ पुराण तथा उपपुराणहरू देव र दानव वा आगन्तुक आर्य र आदिवासी अनार्य अथवा शासक र शासित वर्गको बीचमा भएका युद्धका कथा हुन्। तिनमा सर्वत्र आत्मावादी एवम् परालोकवादी दर्शनको जलप लगाइएको छ। यस्तो किन भयो भन्ने प्रश्न गरियो भने जवाफमा अध्यात्मवादीहरू भन्ने गर्छन्, “प्रभुको लीला अपरम्पार छ!”

चर्चहरूको शासन
यी त भए नेपाली समाजमा हिन्दुवादसँग सम्बन्धित भएर मानिँदै र गरिँदै आएका आत्मिक तथा भौतिक आस्था र व्यवहारका कुरा। अब हामी इसाई एवम् इस्लाम धर्ममा प्रवेश गरौँ। त्यहाँ पनि यो भन्दा खासै फरक देखिँदैन। क्राइस्टले तत्कालीन समाजका दास र यस्तै धार्मिक सामाजिक रुपमा शासकीय दमन एवम् शोषणबाट पिल्सिएका मान्छेहरूलाई मुक्त गर्ने उद्देश्यले नै ठूलो वैचारिक संघर्ष गर्दै आत्मबलिदान सम्म गरे।

सत्य, निष्ठा, क्षमा, प्रेम, दया, करुणाद्वारा नै संसारमा सुख र शान्ति कायम राख्न सकिन्छ भन्ने उनको मूल सन्देश थियो। तर, समयक्रममा हिन्दु धर्मजस्तै यो धर्म पनि शासक एवम् धर्मगुरुहरूको शोषण र उत्पीडनको औजार बन्नु अनिवार्य थियो र बन्यो पनि। फलतः यो धर्म पनि झन् नराम्रोसँग हत्या हिंसामा सामेल भयो। इसाको उदयपछि क्रमशः मध्ययुगसम्म आइपुग्दा यसले राज्यमा सामान्य हस्तक्षेपमात्र गरेन, वास्तवमा शासकीय अधिकारमाथि नै प्रभुत्व जमाउन पुग्यो।

चर्चहरू राज्यका संयन्त्रभन्दा अझ बढी भ्रष्ट, अझ बढी सम्पत्तिशाली र अझ बढी शाक्तिशाली बन्दै गए। यसो भनौँ, वास्तविक राज्यशक्ति नै चर्चहरूको नियन्त्रणमा गयो। यसरी धर्मले शासकीय चरित्र ग्रहण गरेपछि त्यो हत्या, हिंसा र रक्तपातमा मुछिनु स्वभाविक थियो। नवौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीको अवधिसम्म ग्रीक र ल्याटिन चर्चको बीचमा भएका युद्धमहरू वा युरोप महाद्धीपमा भएका सबै युद्धका चालक र निर्णायक इसाई चर्चहरू नै थिए। यस्तै इसाई र इस्लाम बीचमा भएका युद्धहरू कमका थिएनन्।

प्रश्न गर्नेमाथिको निर्ममता
ईशनिन्दाबापत राजालाई समेत नाङ्गै हिउँमा गाडेर वा घुँडा टेकाएर दण्ड दिन सक्ने जो कोही ईशनिन्दकलाई पनि ज्यूँदै जलाउनेसम्मको सजाय दिन सक्ने अधिकार चर्चहरूले राख्दथे। तेह्रौँ शताब्दीमा महान् ब्रिटिस वैज्ञानिक रोजर बेकनलाई ईश्वरलाई चुनौती दिएको अभियोगमा जिन्दगीभर जेलमा सडाइयो। चौधौँ शताब्दीमा स्वअधिकारको माग गर्ने गियो काल नामक किसान नेतालाई सम्झौता गरेको नाटक रची झुक्याएर टाउकोमा तातो फलामको मुकुट पहिर्‍याएर मारियो।

पन्ध्रौँ शताब्दीमा चर्चको भ्रष्टाचार र दुराचारको विरोध गर्ने यान हुसानलाई चर्चकै फैसलामा ज्यूँदै जलाइयो। पन्ध्रौँ शताब्दीमा नै एक फ्रान्सेली अत्यन्त साहसिक देशभक्त योद्धा जोन अफ आर्क नामकी युवतीलाई खम्बामा बाँधेर ज्युँदै जलाइयो। इलाटीका महान् युवा वैज्ञानिक जोर्दानो ब्रुनोलाई सन् १६०० मा ईश्वरनिन्दाकै अभियोगमा चर्चले ज्युँदै जलाएर मार्‍यो।

इटालीकै अर्का महान् वैज्ञानिक ग्यालिलियोले पृथ्वीले सूर्यलाई घुम्छ भनी सिद्ध गरेबापत परमेश्वरको वाणी बाइबलमाथि धावा बोलेको अभियोगमा जीवन कैद र गृहबन्दी बनेर बिताउनुपर्‍यो। उनको मृत्यु सन् १६४२ मा बन्दी अवस्थामा नै भयो। हरेक वैज्ञानिक तथा सत्यान्वेषीलाई भगवानका आदेशहरूमाथि प्रश्न उठाउने नास्तिक भनी मृत्युदण्डलगायतका भयानक यातना दिइन्थ्यो। त्यतिमात्र होइन, चर्चहरूलाई भ्रष्ट हुनबाट बचाउन र धर्मगुरुहरूलाई सादा जीवन अपनाउन अपिल गर्ने पादरीहरूलाई पनि निर्ममता पूर्वक मारिन्थ्यो।

आज पनि बेलायत, अमेरिका लगायत युरोप, अमेरिका र अस्ट्रेलिया महाद्धीपका इसाई शासकहरू बाइबल शिरमा राखेर इसाको नाममा सपथ खाई पदभार ग्रहण गर्दछन्। तर, दुनियँलाई थाहा छ, पुराना साम्राज्यवादी युद्धदेखि प्रथम तथा द्वितिय विश्वयुद्धका प्रणेता तिनै हुन्। हिजोको कोरिया, भियतनाम, युगोस्लाभियादेखि आज मध्यपूर्व, इराक, अफगानिस्तान, लिबिया एवम् प्यालेस्टाइनसम्मका युद्धहरूको पछाडि एउटै मूल उद्देश्य छ, ती देश र त्यहाँको प्राकृतिक सम्पदाको लुटपाट तथा राजनीतिक सांस्कृतिक प्रभुत्व।

केही वर्षअघि जनमत सङग्रहमा गएर टुङ्गिएको सुडानको बाइसबर्षे गृहययुद्धमा पनि जातीय तथा क्षेत्रीय स्वायत्तताका साथै मुस्लिम र क्रिश्चियनबीचको वैमनष्यको भूमिका थियो, जसमा बीस लाख भन्दा बढीको ज्यान गएको थियो। लेबनानको गृहयुद्ध, आयरल्याण्ड र बेलायतको युद्ध तथा इजरायल र प्यालेस्टाइनबीचको युद्ध भूमि र राज्यसत्ताको प्राप्तिका लागि त थियो नै, त्यतिमात्र नभएर धार्मिक अधिपत्यका लागि पनि थियो भन्ने कुरा छर्लङगै छ। पश्चिमाहरूले दिने प्रजातन्त्र र मानवअधिकार जस्ता सुन्दर नाराहरू पनि यस्तै हिंसात्मक कुरुपताका आवरणममात्र हुन्। आफ्नो निम्ति विकास र मानवअधिकार अनि बाँकी विश्वको लागि उत्पीडन र विनाश!

आपसी युद्धको कारक धर्म
त्यस्तै इस्लाम धर्म विश्वमा स्थापित मुख्य धर्महरूमा सबैभन्दा पछिल्लो धर्म हो। यसका प्रवर्तक पैगम्बर मुहम्मदले तत्कालीन शासक वर्गको धार्मिक पाखण्ड, दासता, शोषण र उत्पीडनबाट दास, किसान, गरीब तथा महिलाहरूलाई उद्धार गर्न एक प्रकारको सामाजिक आन्दोलनको रुपमा नयाँ धर्मको स्थापना गरे। बहुदेववादी धार्मिक समाज तथा समन्तहरूको ‘फुटाऊ र राज गर’ भन्ने नीतिले गर्दा विभाजित जनतालाई एउटै अल्लाहको विश्वास ल्याए।

सामाजिक आन्दोलनका निम्ति एकताबद्ध गर्नु नै उनको मुख्य उद्देश्य थियो। तर, आजको युगसम्म आइपुग्दा उनले स्थापित गरेका कैयन् धार्मिक–सामाजिक मान्यताहरू उल्टै बन्धनका रुप बन्न पुगेका छन्। समय र समाजको गति अगाडि बढ्ने तर धार्मिक नियमलाई अपरिवर्तनीय मान्दै त्यसलाई बाँधेर राख्ने भएपछि त्यो स्वतः परिवर्तनविरोधी कित्ताको हतियार बन्दछ।

त्यसैले आज यो धर्म पनि अरु जस्तै धर्माधिकारी र शासक वर्गको शोषणको हतियार बन्न पुगेको छ। त्यतिखेर सामाजिक वातावरणअनुसार धर्मको विरुद्धमा आइलाग्नेमाथि जाइलाग्न पनि पछि नपरुन् भन्ने आशयले मुहम्मदले जोहाद(धर्मयुद्ध)को नियम बनाएको हुनपर्छ। तर, आज खनिज सम्पदाले भरिपूर्ण खाडी क्षेत्रका इस्लामिक राष्ट्रका जनताहरू साम्राज्यवादी हस्तक्षेप एवम् लुटपाटविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वसम्पदा संरक्षणका निमित्त एक भएर अगाडि बढ्नुपर्नेमा उल्टो आपसमा लड्नु दर्भाग्य नै बनेको छ।

स्वार्थी शासक वर्ग र कट्टर धर्माधिकारीहरूको अपव्याख्याका कारण आज इस्लामभित्रकै एक सम्प्रदायले अर्कोमाथि आत्मघाती हमला गर्नेसम्मका गतिविधिहरू भइरहेका छन्। मुस्लिम समुदायभित्रै भयानक युद्ध एवम् रक्तपात भइरहेको छ। तालिवानदेखि लस्कर ए तोइबासम्मका हिंसारत साम्प्रदायिक सङगठनहरूको गठन र उपयोगमा तिनै विलासी धार्मिक मुल्ला, तानाशाही शासक र साम्राज्यवादी लुटाहरूकै हात रहेको छ। उनीहरूले आफ्नो स्वार्थका लागि इस्लामहरूलाई आपसमा लडाइरहेका छन्। धर्मलाई उल्टो वा सुल्टो दिशाबाट हिंसाको हतियारको रुपमा लिँदै निर्दोष जनतालाई युद्ध र हिंसाबाट निम्ति प्रयोग गरिहेका छन्।

शान्तिको खोलभित्र हिंसा
विश्वका ठूला धर्महरूमा पर्ने बौद्ध धर्मको मूल चुरो बोध वा ज्ञान, सत्य र अहिंसा हो। बुद्धको सम्पूर्ण वाणी र कर्म यसैका लागि समर्पित रह्यो। तर, पछिल्ला अनुयायीहरूले यसलाई पनि हिंसाबाट पृथक राख्न सकेनन्। यसले पनि आफ्नो विस्तारका क्रममा हिन्दुवादी, ताओवादी, कम्फुसियसवादी र इस्लामहरूसित संघर्ष गर्दै विकास गरेको हो। राज्य, सम्पत्ति, परिवार एवम् सबै प्रकारका वैभव तथा विषयगत स्वार्थलाई परित्याग गरी सत्य, अहिंसा र ज्ञानधाराको खोजीमा हिँडेका बुद्धको नाम र धर्मलाई नै हतियार बनाएर सत्ताधारी वर्गले शासन र शोषणको अस्त्र बनाउन चुकेनन्।

भुटानी शासकले बुद्धको माला जप्दै नेपाली मूलका नागरिकमाथि गरेको बर्बर दमन र देशनिकाला सबैमा जगजाहेर नै छ। त्यसैगरी बर्मामा अल्पसङ्ख्यक रोहिङग्या मुसलमान समुदायमाथिको बर्बर दमन यसको पछिल्लो उदाहरण हो। नेपालमा भएको खम्पा विद्रोह र तिब्बतमा धार्मिक आवरणमा बेलाबखत हुने हिंसात्मक कार्यहरूका पछाडि निर्वासित शासक तथा धर्मगुरु दलाई लामाको निर्देशित धार्मिक एवम् सत्तास्वार्थले नै काम गरिरहेको छ।

बुद्धवादलाई बचाउने नाममा त्यहाँ अचेल आत्मदाहको लहर फैलिन थालेको छ। आफूलाई अवतारी लामा भन्दै तिब्बतका धर्माधिकारी लामाहरूले त्यहाँ सयौँ वर्ष शासन गरे। दलाई लामा बुद्धत्व शान्तिको नारा दिँदै त्यही सामन्ती राज परम्परा कायम राख्न चाहन्छन्। ती धार्मिक शासकहरू आफू स्वयम् देवत्वमा आरोहित भए, अनि जनतलाई आफ्ना अन्धभक्त बनाएर लामो समय निर्मम शोषण र शासन गरे।
अफगानिस्तानको बामियानमा भेटिएका र पछि इस्लामिक कट्टरवादीहरूले ध्वस्त पारेका चट्टानमय विशाल प्राचीन बुद्धमूर्तिहरूले कुनै बेला त्यहाँ बुद्ध धर्मको केन्द्र रहेछ र समयक्रममा त्यो कडा संघर्षमा टिक्न नसकेर नै पलायन भएको रहेछ भन्ने पुष्टि गर्दछन्। अनि हामी यो निष्कर्षमा पुग्न पनि बाध्य हुन्छौँ कि त्यो तहमा पुगेको बुद्ध धर्मका पीठाधीशहरूले त्यसलाई त्यतिकै छोडेर पक्कै गएनन्।

धर्मको आडमा साम्राज्यवाद
यो छलफलबाट हामी के निष्कर्षमा पुग्छौँ भने समाज, धर्म र हिंसा अध्यात्मवादीहरूले भन्ने गरे झैँ पृथक विषय होइनन्। समाजविना धर्मको कल्पना पनि गर्न सकिँदैन। समाजको नियम नै हो, आफैँ हिंसात्मक वर्ग संघर्षका आँधीहुरी पार गर्दै अगाडि बढ्छ। अथवा यसो भनौँ, धर्म पनि तत्कालीन वर्ग संघर्ष र समाजिक जीवनले निर्माण गरेको विचार एवम् भावनाको प्रतिबिम्ब हो।

समाज वर्गहरूमा विभाजित छ। वर्गीय समाजमा अलग अलग वर्गका अलग अलग स्वार्थहरू हुन्छन्। त्यसैले त्यहाँ वर्गस्वार्थहरूको टक्कर अविार्य हुन्छ। त्यही वर्गस्वार्थको टक्करको बीचबाटै धर्म पनि विकसित र विस्तारित हुँदै आएको हुन्छ। यसरी स्वार्थहरू टकराउँदै जाँदा त्यो युद्ध, हिंसा र रक्तपातमा विकास हुन्छ। यसमा धर्म तटस्थ रहन सक्ने कुनै सम्भावना रहँदैन। किनकि, धर्मको उत्पत्ति जहाँ, जहिले जसरी र जुन उद्देश्यका साथ भएको होस्, अन्ततः त्यो जसरी पनि शासक वर्ग र तिनका महिमागायकहरूकै हतियार बन्दै जाँदो रहेछ। अठारौ, उन्नाइसौँ र बीसौँ शताब्दीमा पनि पश्चिमा साम्राज्यवादीहरूले व्यापार र हतियारको बलमा मात्र आफ्नो साम्राज्य विस्तार गरेका होइनन्।

उनीहरूको अझ अभेद्य हतियार त ‘क्रश्चियन मिसन’ र बाइबल थिए। छिमेकी भारतमा इस्लाम धर्म मुस्लिम बादशाहसँगै र इसाई धर्म अंग्रेज शासकहरूसँगै विस्तारित हुन पुगेको थियो। अफ्रिकीहरूको भनाई छ, “जति बेला हामीलाई क्रिश्चियनहरूले ईश्वरको नाममा आँखा चिम्लेर प्रार्थना गर्न भने त्यतिबेला हामीसँग सुन्दर देश र उर्वरा धर्ति थियो। जब हामीले आँखा खोल्यौँ, हाम्रो हातमा बाइबल थियो र उनिहरूको हातमा देश।”

आज पनि धार्मिक ठगहरूको फेरमा परेर आँखा चिम्लिनेहरू त्यही ढंगले आफ्ना स्वत्व, आत्मबल, स्वाभिमान, सम्पत्ति र राष्ट्रसमेत लुटिएको थाहा पाउँदैनन्। साम्राज्यवादको त्यही पुरानो हतियार नेपाली समाजमा आज नयाँ बनेर आक्रमण गर्दैछ। गरिबी र अभावबाट त्राण पाउने भ्रममा आज अशिक्षित एवम् सीधासाधा नेपालीहरूलाई इसाई धर्मको शरणमा जाँदैछन्।

किन चुप छन् धर्मगुरुहरू?
सयौँ वर्षदेखि इसाई धर्म अपनाइ आएका एसियाली, अफ्रिकी र ल्याटिन ओमरिकीहरू आज पनि किन गरिबी र गृहयुद्धको मारमा छन्? यो प्रश्नबारे धार्मिक अनुष्ठानमा कहिल्यै छलफल हुँदैन र कसैले यस्तो कुरा उठाइहाले उसलाई धर्मविरोधको बिल्ला भिराएर त्यहाँबाट निष्काशित गरिन्छ।

धर्म र हिंसा तथा अहिंसाबारे आ–आफ्नै प्रकारका बुझाई र परिभाषा हुने रहेछन्। धार्मिक ‘अहिंसावादीहरू’ले देवता र धर्मको नाम लिएपछि जुनसुकै प्रकारका हिंसालाई पनि छुट दिँदारहेछन्। हामीले देखेका छौँ, नेपालमा मन्दिर एवम् बलिको नाममा गरिने बीभत्स प्राणी हत्याको संगठित विरोध यहाँका धार्मिक संस्था एवम् धर्मगुरुहरूले कहिल्यै गरेनन्।

त्यतिमात्र होइन, दसवर्षे जनयुद्धकालमा तिनले कहिलेकाहीँ निरपेक्ष शान्तिको कुरा त गरे, तर राज्यद्वारा लादिएको हिंसाको कहिल्यै खुलेर विरोध गरेनन्। बरु त्यही समाजमा पनि धर्मावतारको रुपमा निरंकुश राजालाई नै मानिरहे, उसकै जयजयकार गरिरहे।

आजको विश्वमा इराक, अफगानिस्तान, पाकिस्तान र कतिपय अफ्रिकी मुलुक लगायत विश्वका दर्शनौँ स्थानमा साम्राज्यवादी युद्धको आगो बलिरहेको छ। वर्षिक लाखौँ निर्दोष मान्छेहरू त्यसको सिकार भइरहेका छन्। तर, धार्मिक संघ संस्थाहरूले त्यसप्रकारको बर्बर युद्ध एवम् नरसंहारको संगठित विरोध गरेको पाइँदैन।

किनकि, त्यो सबै शान्ति, प्रजातन्त्र र मानवअधिकारको आवरणमा भइरहेको छ। आजको विश्वमा अस्त्र बजारका आपूर्तिकर्ता तथा युद्धका मुख्य जिम्मेवार अमेरिका र युरोपेली शक्तिराष्ट्रहरू नै हुन्। शान्ति र अहिंसाका सच्चा उपासक भन्नेहरू आफूलाई हिंसावादी भन्न त के त्यसरी सोच्न पनि तयार छैनन्। इराकमा निर्दोष जनताको हत्या सद्दाम हुसेनले धेरै गर्‍यो कि साम्राज्यवादीहरूले थोपरेको अहिलेको युद्धले? धर्मवादी तथा धर्मवादी पार्टीहरू यो प्रश्नको जवाफ दिन तयार छन् त? अथवा यसरी सोच्न सक्लान्? अहँ, सक्दैनन्।

उनीहरू कसलाई हिंसावादी भन्छन् त? उनीहरूको दृष्टिमा हिंसावादी ती हुन्, जसले वर्ग संघर्षमा विश्वास गर्छन्। अर्थात्, जो हिंसामा अडेको शोषकवर्गीय सत्तालाई ध्वस्त गरी शोषित उत्पीडितका निम्ति न्यायिक व्यवस्था स्थापित गर्न चाहन्छन्। अथवा जो हिंसामा अडेको वर्गीय दुनियाँबाट सदाको लागि युद्ध, हिंसा, शोषण, शासन र सबै प्रकारको उत्पीडनको अन्त्य गरी स्थायी न्याय एवम् शान्ति कायम गर्न चाहन्छन्। त्यसैले धर्मको वास्तविक चरित्र के हो, यो कसको हतियार बनेको छ र यसको जरो कहाँ छ भन्ने बारे धर्मनरिपेक्ष नेपालमा अलि खुला छलफल चलाउनु आवश्यक भएको छ।

घनश्याम शर्मा पौड्यालको पुस्तक ‘धर्म, समाज र संस्कृति’ को एक अंश