बुटवलमा सडक अलपत्र कहिलेसम्म ?

नेपालकै प्रमुख ठुला सहरहरु मध्ये लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित बुटवल उप–महानगरपालिका पनि प्रमुख सहरको रुपमा प्रसिद्ध रहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय र ऐतिहासिक दृष्टिकोणबाट पनि यसको छुट्टै महत्व रहेको छ । विशेषगरी छिमेकी जिल्लाहरु कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वत र अन्य केही जिल्लाका व्यक्तिहरुको लागि उच्च शिक्षाको गन्तव्य, व्यवसायिक र व्यापारिक दृष्टिकोणबाट अति नै महत्त्वपूर्ण क्षेत्रको रुपमा लिने गरेको छ । साथै भारतसँग पनि सुनौली नाका जोडिएको हुँदा व्यापारिक क्षेत्र पनि प्रमुख रुपमा अघि नै रहेको छ । साथै बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस लगायत अन्य निजी क्षेत्रका कलेजहरुले गर्दा पनि शैक्षिक क्षेत्रको हिसाबले निकै अब्बल मानिन्छ । विकासका धेरै क्षेत्रहरुको उच्च सम्भावना बोकेको यस बुटवल सहरमा हालको सडकको अवस्था हेर्दा भने लज्जित नै बनाउँदछ ।

पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्गमा पर्ने बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार विगत केही वर्षबाट सुरु गरिएता पनि अहिलेसम्म पनि अस्तव्यस्त रुपमा नै देखिएको छ । बुटवलको व्यस्त सहर यसरी अस्तव्यस्त देख्दा यहाँका जो कोही नागरिकलाई पनि सोच्न बाध्य बनाउँदछ । यसरी सडक अस्तव्यस्त हुनुको प्रमुख कारण के हो त ? यसको जिम्मेवार निकायहरु कहाँ छन् र किन मौन छन् ?  करिब १० वर्ष अघि मापदण्ड विपरित निर्माण गरिएका घरहरु भत्काइएको थियो साथै त्यतिबेलादेखि नै सडक निर्माणको कार्य सुरु भएतापनि अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । बुटवल चौराहाबाट गोलपार्कसम्म करिब ३ किलोमिटर जति रहेको सडकमा केही आकाशे पुल निर्माण गरिएतापनि जेब्रा क्रसिङ्गको उचित व्यवस्थापन नहुँदा बाटोमा साइकल यात्री तथा इ–रिक्सा चालकहरु र पैदल यात्रीहरुलाई पनि निकै सास्ती खेप्नु परेको देख्न सकिन्छ । कामको प्रक्रिया निरन्तर जारी रहेपनि समयमा पुरा हुन नसक्दा सडक जताततै खाल्डाखुल्डी, धुलैधुलो साथै बर्खायामको समयमा खाल्डाखुल्डीमा पानी भरिएर पोखरी जस्तै भएको देखिन्छ । सडकका छेउछाउमा सन्चालन भएका विभिन्न पसलहरु लगायत रेष्टुरेन्ट पनि धुलाम्मै भएको देख्न सकिन्छ । साथै उक्त रेष्टुरेन्टमा गएर मानिसहरु खाना खाने बस्ने गर्दछन् । जसले गर्दा स्वास्थ्य विभिन्न गम्भिर समस्या निम्त्याउन सक्ने खतरा उच्च रहेको देखिन्छ तर यो बिषयमा किन सोच्न सकेको छैन बुटवल उपमहानगरपालिकाले ? गएको २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट बिस्णु पौडेल विजयी भएका थिए र स्थानीय चुनावमा एमाले र माओवादी गठबन्धनबाट शिव सुवेदीले जितेका थिए भने हालै मात्र सम्पन्न भएको स्थानीय चुनावबाट कांग्रेस, माओवादी लगायत अन्य साना दलको गठबन्धनबाट खिलराज पाण्डेय विजय भएका छन् । यिनको करिब १०० दिनको कार्यकाल सकिँदा पनि सडक क्षेत्रमा केही सुधार भएको देखिएको छैन र बाँकी कार्यकालको समयमा के कति रुपमा समस्याको समाधान गरेर अघि बढ्छन् यिनको काम र कार्यकालले बताउनेछ । तर चुनाव अघि यिनले गरेको प्रतिबद्धता भने यस्तो रहेको थियो ।

“मैले बुटवलका प्रत्येक समस्यालाई नजिकबाट देखेको, भोगेको र बुझेको छु । समस्याको पहिचान मात्र होइन, मसँग समाधानका उपायहरु पनि छन् । पछिल्लो निर्वाचनमा म उपविजेता भएपनि बुटवलको विकासदेखि सामाजिक काममा सधैं सक्रिय रहेको यहाँका मतदाताले देखेका छन् । आफ्नो सबै समय जनताको सम्पर्कमा रहेर बिताएको छु । यसैले पनि मतदाताले मलाई ‘एकचोटी अवसर दिनुपर्छ’ भन्ने भाव राखेको पाएको छु । अर्को कुरा, यहाँका मतदाता आफ्नो अधिकार र कर्तव्यप्रति सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा मेयरको रुपमा मलाई छान्छन् भन्ने कुरामा म पुर्ण विश्वस्त छु ।”

विभिन्न राजनीतिक दलका उच्च स्तरका नेताहरु रहेको यस जिल्लामा यस्तो किसिमको समस्या यतिका वर्षसम्म अस्तब्यस्त रहँदासम्म पनि चासो नदिएका यी नेताहरुलाई यहाँका जनताहरुले अब आउने चुनावमा के आधारमा विश्वास गरेर भोट दिन्छन् भनेर सोच्न पनि बाध्य बनाएका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवल बनाउने कि दाङ् बनाउने ? भन्ने विषयमा पनि राजनीतिक दलका नेताहरु वीच लामो समयसम्म विवाद चलिरहँदा अनन्त दाङको देउखुरी क्षेत्रको भालुवाङ नै गराउने अन्तिम निर्णय घोषणा भएको थियो । चुनावको बेलामा बुटवलमै राजधानी गराउछौँ भनेर प्रतिबद्धता दिने नेताहरु यसरी नै सधैँ जनता सामु झुटो खेतीको भ्रम अन्य गरेर जिम्मेवारी बन्ने सिक्ने पो हो कि ?

बुटवलमा सवारी साधनहरु अत्याधिक मात्रामा चलिरहने तर सडकको उचित व्यवस्थापन नहुँदा वर्षेनी विभिन्न सडक दुर्घटनाहरु भरहेका हुन्छन् । सडकको छेउछाउमा फुटपाथ व्यापार गर्नेहरुको पनि उस्तै भीड रहेको छ, जसले गर्दा पनि मानिसहरुको आवतजावत बढी हुने भएकोले सडक दुर्घटना हुने उच्च सम्भावना देखिन्छ । यस विषयमा पनि उपमहानगरपालिकाले सम्बन्धित निकायहरुसँग छलफल गरेर उनीहरुलाई अन्यत्र ठाउँमा सारेर वा केही राहत उपलब्ध गराएर भएपनि समस्याको समाधान गर्न अत्यन्तै जरुरी रहेको देखिन्छ । देशका विभिन्न ठाउँहरुमा जानको लागि गाडीहरु छुट्ने बुटवलको नयाँ बसपार्कलाई उचित तरिकाले मर्मत गरी अघि बढाउन जरुरी रहेको देखिन्छ । बुटवलको मध्य ठाउँमा रहेतापनि क्षेत्रफलको हिसाबले निकै साघुँरो रहेको र हाल बढ्दो सवारी साधनहरुको चापले गर्दा पनि सोच्न बाध्य पारेको देखिन्छ ।

दीर्घकालिन रुपमा सहज तरिकाले अघि बढाउनको लागि हालको स्थान परिवर्तन गरेर अन्यत्र  स्थानमा नै सार्नु पर्ने हो कि भनेर सोच्न पनि जरुरी रहेको देखिन्छ ।
यतिबेला बुटवलका भित्री शाखा सडकहरुको निर्माण कार्य जारी रहेपनि अझै उस्तै अस्तव्यस्त नै रहेका छन् । बुटवलकै दोस्रो ठूलो सडकको रुपमा निर्माण हुँदै गरेको योगीकुटीदेखि पुरानो बसपार्कसम्मको सडकको अवस्था पनि उस्तै नै रहेको देखिन्छ । त्यसैगरी बुटवलबाट पश्चिम सालझण्डी सम्मको सडकको अवस्था पनि उस्तै हरिबिजोग रहेको छ । सडक विस्तारको लागि प्रसस्तै ठाउँ हुँदाहुँदै पनि अति साँगुरो र खाल्डाखाल्डीहरुमा गाडीहरु गुड्न बाध्य भएका छन् । बुटवल चौराहादेखि भैरहवासम्म यात्रा गर्दा भने अन्य विकसित देशका सडकमा यात्रा गरिरहेको हो कि भन्ने छुट्टै किसिमको महसुस हुन्छ । यहाँबाट पनि सिक्न जरुरी छ कि यदि कुनै पनि क्षेत्रमा लागि परेर काम गर्न सक्ने हो भने परिवर्तन गर्न सहजै सकिदो रहेछ भनेर ।

पर्यटकीय हिसाबले पनि निकै अघि देखिएको बुटवल सहर सडकको अवस्था यसरी अस्तब्यस्त रहदा आन्तरिकदेखि बाह्य पर्यटकहरुको आगमन संख्यालाई पनि असर पार्न सक्ने सम्भावना उच्च रहेको देखिन्छ । यसै वर्षबाट सुरुवात भएको अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको प्रयोगले पनि रुपन्देहीलाई आर्थिक र पर्यटकीय क्षेत्रबाट थप अगाडी बढाउन सकिन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ तर सडक निर्माणको उचित व्यवस्थापन सँगै बस्नको लागि होटेलहरुको पनि उचित व्यवस्थापन हुन जरुरी रहेको छ, जसको लागि होटेल व्यवसायीहरुसँग विभिन्न विषयहरुमा छलफल गरी नयाँ ढङ्गबाट अघि बढ्न आवश्यक देखिन्छ । हालको अवस्थालाई हेर्ने हो भने पर्यटकहरुको लागि सरसफाइदेखि अन्य धेरै कुराहरुको कमीकमजोरीलाई सुधार गर्नुपर्ने देखिन्छ । बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही भैरहवाबाट नजिकै पर्ने भएकोले पनि यस क्षेत्रमा पर्यटन व्यवसायको उच्च सम्भावना रहेको छ । 

हाल बुटवलमा देखिएको सडकको अस्तव्यस्ततालाई समाधान गर्नको लागि रुपन्देही जिल्लाका उच्च स्तरका नेताहरु, स्थानीय तहको सरकार, विभिन्न पेसा, व्यवसायिक तथा संघ संस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु लगायत विभिन्न सरकारी निकायहरुले सडक विभागलाई दिएको ठेक्का के कस्ता कारणहरुले गर्दा निर्माण कार्यमा ढिलाई भइरहेको छ भन्ने बारे अनुसन्धान गरी वास्तविक समस्या पत्ता लगाएर बुटवलको अस्तव्यस्त रुपमा रहेको सडकलाई तुरुन्त समाधान गर्न निकै आवश्यक रहेको  देखिन्छ । 
(सत्यवती गाउँपालिका–२ चेहेमी, गुल्मी, हाल जापान ओसाका)