'MCC, SPP र महंगीविरुद्ध सङ्घर्ष गर्दै रणनीतिक मोर्चालाई पार्टी एकतामा बदल्छौँ ': चार कम्युनिस्ट पार्टी 

'MCC, SPP र महंगीविरुद्ध सङ्घर्ष गर्दै रणनीतिक मोर्चालाई पार्टी एकतामा बदल्छौँ ': चार कम्युनिस्ट पार्टी 

बुटवल । क्रान्तिकारी कम्युनिस्टहरु बीचको पार्टी एकताको लक्ष्य सहित गठन भएको रणनैतिक संयुक्त मोर्चामा आवद्ध चार वटा कम्युनिस्ट पार्टीहरुले, एमसिसी, एसपीपी, महङ्गी र नेकपा सँग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि जनसङ्घर्स गर्दै चार कम्युनिस्ट पार्टी बीचको सहकार्यलाई पार्टी एकतामा बदल्ने उद्घोष गरेका छन् । 

स्थिति प्रज्ञा भवनमा चार कम्युनिस्ट पार्टीद्वारा बुधबार आयोजित “एमसिसी, एसपिपी, चर्को महङ्गी र नेकपा सँगको तीन बुँदे सहमति विषयक“ संयुक्त अन्तक्र्रिया कार्यक्रममा चार कम्युनिस्ट पार्टीको तर्फबाट मन्तव्य राख्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

मुलुकमा बढ्दै गएको महङ्गी, भ्रस्टाचार र विदेशी हस्तक्षेप विरुद्ध र जनजीविकाको सवालमा सडक संघर्ष गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी सम्मिलित रणनैतिक मोर्चाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले भने “हामी चार दल पुर्व सहकार्यलाइ निरन्तरता दिदै यो सहकार्यलाई एकतामा बदल्ने उद्देश्य सहित अगाडि जादैछौ । साझा वर्ग दुश्मन विरुद्ध, दलाल पुँजीवादी राज्यसता विरुद्ध क्रान्तिकारीहरु गोलबद्ध हुनु अहिलेको आवश्यकता हो । तर यो वीचमा क्रान्तिकारीहरु बीच टुटफुट र विभाजन त भरहेकै थियो तर रणनैतिक मोर्चामा रहेको एक दल पनि अलग हुन पुगेको छ, निश्चिय नै यसले राम्रो सन्देश  दिएको छौ ।”

अहिलेको पुँजीवादको चरित्र र समाजवादी आन्दोलनको चरित्रबारे व्याख्या गर्दै फेरि सचिवालय सदस्य बुढाले भने –“अहिलेको विश्वमा पुँजीवाद र समाजवादी दुई प्रणाली र दुई वर्ग वीचको लडाई भइरहेको छ । पुँजीवादले तेस्रो विश्वका उत्पीडित देशहरुको अर्थतन्त्र लुट्न हिजोको भन्दा फरक शैलीको विकास गरेको छ । उसले माक्र्सवादी र पँुजीवादी द्वैत दर्शनको प्रयोग गरिपनि रहेको छ । उनीहरुको दर्शन भनेको एकता संघर्ष र फेरि भागवण्डामा एकता गर्ने दर्शन बन्न गएको छ । अहिलेको विश्वमा कम्युनिस्ट व्यवस्था रक्षात्मक जस्तो देखिएको भए पनि चीन, क्युवा, कोरिया लगायतका समाजवादी देशहरुलाई अमेरिकाले चुनौतीको रुपमा लिएको छ । यस चुनौतीलाई सामना गर्न सबभन्दा पहिला चीनलाई टुक्राउने उसको योजना छ र त्यसैका लागि नेपालमा एमसिसी एसपीपी कार्यान्वयन गर्न खोजियो । एशिया र विशेषतः दक्षिण एशियामा प्रभाव जमाउन तथा चीनलाई घेरा हाल्न एमसिसी र एसपिपी ल्याइएको हो । यसको फेरि पनि मुख्य उद्देश्य समाजवाद र कम्युनिस्टहरुलाई दमन गर्ने नै हो ।” 

मन्तव्यका क्रममा उनले भने–“डोनाल्ड लु नेपालमा आउनु र यहाँका दलालहरुले हाम्रा विरुद्ध पक्राउ पुर्जी जारी गर्नु भनेको बाघ कराउनु र बाख्रो हराउनुको संयोग जुर्नु जस्तै हो । यदि तीन बुँदेलाई कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बीचबाट शसक्त प्रतिरोध गरिने छ ।”

कार्यक्रममा मुलुकको समसामयिक राजनीति र आर्थिक संकट र तीन बुँदेको कार्यान्वयन हुनुपर्ने भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष आरवि भण्डारीले “जनतालाई उल्लु बनाउनका लागि एमसिसी पास गर्ने बेला तथाकथित व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको एकपक्षीय नाटक मञ्चन गरियो । एमसिसी र एसपिपी आएपछी नेपाली अनुहारका देशद्रोही को को छन् भन्ने कुरा जनताले चुन्ने अवसर पाए । गाउँघरमा उत्पादनशील पुँजी र श्रम छैन । मेनपावर कम्पनी खोलेर राज्यले नागरिक वेच्ने नीति लिएको छ । यसले नै देशमा आर्थिक संकट पैदा गरेको छ । परिवर्तन र क्रान्तिका लागि आवश्यक परेछ भने हतियारवद्ध हुने बेला आउन सक्छ । तीन बुँदेको पालना र कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्ने भनेको नागरिकलाई युद्धमा जान बाध्य पार्ने दुस्प्रयास हो । वस्तु तथा सेवा र उपभोक्ता बीच सिधा सम्बन्ध हुने हो  र उत्पादित वस्तुको स्वदेशमा नै खपत हुने हो भने महङ्गी घट्छ तर राज्य दलाल र दलाल पुँजीपतिको पक्षधर भयो । महङ्गीबाट पार पाउन रास्ट्रीय पुँजीको प्रवद्र्धन गर्ने राज्य हुनुपर्छ । त्यो विना महङ्गी घटाउन असम्भव छ । तीन वुँदे उल्लंघन गरेर सरकारले मुडभेठको स्थिति बनाउन खोज्दै छ । यदि पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी हो भने हामी पनि लडाइँका लागि तयार हुनुपर्ने हुन्छ । सरकार पनि तयार भएर बस्दा हुन्छ ।”

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका संयोजक कर्णजित बुढाथोकी (शुसिल)ले “समयले नयाँ गठन, पुनर्गठन र विघटनको पनि माग गरेको छ । केहिदिन अघि प्रचण्डले देउवालाई तपाई पहिलो हुनुहोस् तर हामीलाई दोस्रो बनाउने कि नबनाउने भनेर घृणित अभिव्यक्ति दिनु भो । यसले संसदवादीहरुको तल्लो स्तरको संस्कृतिको अभिव्यक्ति गर्छ ।”
मन्तव्य राख्दै फेरि शुसिलले भने–“युक्रेनपछि ताइवान र नेपाल अमेरिकी साम्राज्यवादको निशानामा छन् । आजको नेपालमा रास्ट्रीयताको सवाल निकै जटिल बन्दै छ, यसबिरुद्ध कसरी जाने भन्ने बारे हामी चार दल एक ठाउँमा छौं । देशमा आर्थिक संकट आउदै छ । यसको मुख्य कारण अहिलेको सत्ता र शासकको चरित्र हो । नेपाल कम्युनिस्ट पार्टी र सरकारवीच भएको तीन बुँदे सहमति राज्यले कार्यान्वयन गरेको छैन । यसले उनीहरु देशमा हत्या हिंसा गराएर शासकीय संकटलाइ पार लगाउन खोज्दैछन् भन्ने कुरा देखियो । फेरि देशलाई युद्धमा धकेलिन्छ भने यसको जिम्मा कांग्रेस र देउवाले लिनुपर्छ । हामी नेपालमा युद्ध चाहान्नौं, यदि युद्ध भइहालेमा हामी जनयुद्ध होइन् रास्ट्रीय प्रतिरोध युद्धमा जानेछौं । हामी रणनैतिक मोर्चालाई अब पार्टी एकताको स्तरमा विकास गर्न चाहान्छौं । हामीले चुनाव प्रयोग गर्ने भएपनि, वहिस्कार गर्ने भएपनि एउटै कार्यनीतिमा जानुपर्छ ।”

त्यस्तै आजको साम्राज्यवादको पछिल्लो चरित्र, बिशेषतः अमेरिकी साम्राज्यवादको बिगत तर्फ कोट्याउदै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता जागृत रायमाझीले भने –“हामीलाई विगत ८० वर्ष देखिको इतिहास थाहा छ । यसवीचमा अमेरिका जहाँ जहाँ जान्छ, उसले त्यहाँका प्राकृतिक सम्पदाहरु र देशहरुलाई ध्वस्त पार्दै आएको छ । जब अमेरिका नेपालमा आउँदैछ तब हामीले हाम्रो पानी र हाम्रो विजुलीबारे निर्णय गर्न पाउने छैनौं । भारत चीन वा अन्य कुनै देशले हाम्रा विरुद्ध कुनै काम गरेका छन् वा छैनन् त्यो पनि बहस गरौंला तर अमेरिकी साम्राज्यवादको विरुद्ध उसको हाकाहाकी दमनका विरुद्ध चीन उभिएको सहि हो, चीनलाइ घेर्न अमेरिका एमसिसी, एसपिपी जस्ता कार्यक्रम लिएर आएको छ ।”

एक फरक प्रसङ्ग कोट्याउदै रायमाझीले भने–“नेपालको इतिहासमा राजालाई रास्ट्रवादी भनेर व्याख्या गरिन्छ तर यो बुझाइ गलत छ । यो देशमा गोर्खा भर्ती केन्द्र राखेर राज गर्ने राजा कसरी देशभक्त भन्न मिल्छ ? कोशी, गण्डकी र कालापनीमा सेना राख्न दिने पनि राजाहरु नै थिए । यो विषय पनि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले बहस गर्नुपर्ने मुद्दा हो । हाम्रो देशको वार्षिक वजेटभन्दा बढी हाम्रो व्यापार घाटा छ । दलाल पुँजीवाद वास्तवमा पुँजीवाद नै होइन, पुँजीवादले त कमसेकम बस्तु र सेवाहरुको उत्पाद्न गर्न खोज्छ । त्यसो भएको खोइ ! यो दलाल पुँजीवादका मतियार कांग्रेस, एमाले र माओवादी  हुन् । यिनीहरुले चलाएको यो देशको सरकार असनको व्यापारी जस्तो छ । अन्तर्रास्ट्रिय बजारमा तेलको मुल्य घटेको छ, स्वचालित प्रणाली अनुसार यहाँ तेलको मूल्य घटेको छैन । ६० को दशकपछि संसारभरी कहीँपनि क्रान्तिको विजय भएको छैन । हामीले सफल हुनै नसक्ने क्रान्ति नगरौ भन्ने हाम्रो भनाइ छ । केहिदिन अघि एक कार्यक्रममा कमरेड विप्लवले अदालत र न्यायाधीशहरुका विषयमा आलोचना गर्नुभएको थियो, सायद त्यो भएर न्यायलयले पुर्जी काटेको हो भने यो गलत छ ।” उहाँले भन्नुभयो ”कमरेड किरण ! तपाइ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको महत्वपूर्ण व्यक्ति हो, तपाइको बचेखुचेको साख नगुमाउनु होस् । म अनुरोध गर्छु आउनुहोस् अब रणनीतिक मोर्चालाई चार दलबाट ६ दलमा लैजाऔं ।” 

नेकपा केन्द्रीय सदस्य सावित्रा दुरा (आस्था)ले आफ्नो मन्तव्यका क्रममा यो गठवन्धन सरकारले मिलेर देश खादैछ । हामीले त्यसको विरोध गरेपछि महासचिव विप्लव र अन्य कार्यकर्ता विरुद्ध ललितपुर अदालतद्वारा पुर्जी काटिएको छ । यो देशभक्तहरु विरुद्धको षड्यन्त्र हो, हामी  यसको घोर भत्सर्ना गर्छौं भन्दै बिरोध जनाउनुभयो । 

अन्तर्किया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष लिला थापाले मन्तव्यद्वारा स्वागत  गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय कार्यालय सचिव चिरञ्जीवी ढकालले गरेका थिए ।