विपत्तिमा गुन्जिएको समवेत स्वर

पहिरोको पहिरन : सिर्जना समीक्षा

विपत्तिमा गुन्जिएको समवेत स्वर

तीनबर्ष अगाडी, साउन ७ गते गुल्मी सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक सिङ्दीमा गएको पहिरोको कहर स्मरण गर्दै स्रष्टा टेकन सिंजालीले ‘विपत्तिमा लाको घाउ’ शीर्षकमा कविता लेखे–

गड्याङ गुडङ आकाशबाट दक्र्यो पानी दररर

त्यो कालो रात सम्झिँदा नि मुटु काँप्छ थररर

कहाँ भागौं, कहाँ जाउँ, थिएन कहीँ लुक्ने ठाउँ

अझ पनि चहराइराछ विपत्तिमा लाको घाउ 

(‘विपत्तिमा लाको घाउ’ कविताको अंश, जनबाटो, २०७९ साउन १२)

साउन ७, अर्थात् तीन बर्ष अगाडी पहिरोको कहरलाई स्मरण गर्दै सिंजालीले ‘पहिरोको पहिरन’ कार्यक्रमको आँगनमा उभिएर उक्त कविता वाचन गरेका थिए । सिंजालीले कविता वाचन गरिरहँदा कार्यक्रममा सहभागी पाहुना र दर्शकदीर्घामा बसेका स्थानीय जनताको हृदयमा संवेदनाका झोक्काहरुले हानिरहेका थिए । सबैको हृदयमा शोकका भक्कानोले कम्पन पैदा गरिरहेको थियो । सिंजालीकृत कविताको कम्पन स्थानीय जनता, कवि–साहित्यकार वृत्तमा अहिलेसम्म चलिरहेको छ । 

ठूलो लुम्पेकको सिङ्दीलाई बढी क्षति पुर्याउने गरी साउन ७, २०७६ मा आएको पहिरोका परकम्पहरू अझै रोकिएका छैनन् । त्यसका स्मृति घाउ अझै ओभाएको छैन । हृदयमा फाटेको धाँजा अझै जोडिएको छैन । ‘साउन ७’ अर्थात् कहिल्यै बिर्सन नसकिने त्यो दिन । हामी तीन बर्षपछि विपत्तिको कम्पनलाई स्मरण गर्न, स्थानीय जनताको हृदयमा कम्पित विपत्तिको कैरन र त्यसको ध्वनि सुन्न, स्मरण गर्न र यसका समाधानहरुको खोजी गर्न ‘पहिरोको पहिरन’ शीर्षक लिएर सिङ्दीको बस्तीमा जम्मा भयौं । यसको चाँजोबाँजो ल्हुम्पेक कला तथा साहित्य यात्राले गरेको थियो भने कार्यक्रम प्रबद्र्धन सत्यवती गाउँपालिका वडा नं. ३ ले गरेको थियो । कार्यक्रमको सुरुमै ठूलो लुम्पेकमा पहिरोको अवस्था, त्यसले पारेका भौतिक तथा मानवीय क्षति, पहिरो पूर्वको अवस्था र पहिरोपछिको बस्ती र त्यहाँको अवस्था, विपत्तिका बेला गरिएका सम्पूर्ण क्रियाकलापहरुको भिडियो र फोटाहरु प्रदर्शन गरिएको थियो । भिडियो हेर्दा नाजी युद्धका बेला बमले ध्वस्त भग्नावशेष–चित्रित श्यामश्वेत फिल्म हेरेँझैं अनुभूत भइरहेको थियो । 

‘पहिरोको पहिरन’ मञ्चमा उभिएर पहिरो जानुको प्राकृतिक वा मानवीय सम्बन्ध र यसका जराहरुबारे उधिन्दै थिए–जुक्त थापा र अर्जुन तरामु । पहिरोले पारेको प्राकृतिक, सामाजिक र मानवीय प्रभाव दीर्घकालसम्म रहने र यसका असरहरु कयौं नयाँ पुस्ताहरुले भोग्नुपर्ने उनीहरुको भनाई थियो । उनीहरुले पहिरो प्राकृतिक भुक्षय मात्र नभएर मानवीय सम्बन्धहरुको विच्छेद समेत भएकोले यसले सामाजिक र मनोवैज्ञानिक रुपमा समेत गम्भीर असर पार्ने निष्कर्षसहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्र प्रस्तुत गर्दै जुक्त थापाले पहिरो आउनुको कारण वातारणीय प्रभाव अध्ययन नगरी अवैज्ञानिक ढंगले जथाभावी खनिएको सडक, भूगोलको अवस्थिति, नालीको अव्यवस्थापन आदि भएकोले यसबारेमा सबैले ध्यानदिनुपर्नेमा जोड दिएका थिए । 

तीनबर्ष अगाडी पहिरोको विपत्तिले ठूलो लुम्पेकमा ठूलो भौतिक तथा मानवीय क्षति भोग्नुपर्यो । बस्तीहरु खण्डहर भए, गाउँबाट धेरै परिवार विस्थापित हुनुपर्यो । कयौंले जीवन गुमाउनुपर्यो । बसाइँसराइँसँगै कयौं स्मृति र सम्बन्धहरुको धागो चुँडियो । पहिरोले जीवन गुमाएर दुई अबोध बालकहरु बबी विक र दर्शन तरामु मगरलाई सम्झिँदै र पहिरोपछिको संकटलाई चित्रित गर्दै कवि गुणदेव सिंजाली कवितामार्फत् भन्छन्, 

जब आमाले रोपेका  

ती खुर्सानी र नासपातीहरु

आफ्नै घर र गोठहरु 

भीषण पहिरोमा पुरिन्छन्

प्रिय बबी\प्रिय दर्शन

बादल विस्फोटको रातसँगै

सायद, तिमीहरु एकैपटक दुख्यौ

तर हामी हरेक साँझ

सयौं पटक दुखिरह्यौं

हरेक बर्षात्, 

हजारौं पटक झस्किरह्यौं ।

–(गुणदेव सिंजालीको फेसबुकवाल)

ठूलो लुम्पेकमा भएको पहिरोको विपत्ति इतिहासको पानामा दर्ज भइसकेका छन् । सर्जकहरूले आफ्ना सिर्जनामा पहिरोको चित्रण, विस्थापितको पीडा, घाइतेको आर्तनाद, विनाशपछि राज्यसंयन्त्रको निकम्मा तथा जीवनप्रतिको आशालाई विविध आयामबाट व्यक्त गरिरहेका छन् । 

विपत्तिबारे गरिने ती सिर्जनाले इतिहास निर्माणसँग कत्तिको तादात्म्य राख्छन् त ? ‘सिर्जनाको काम इतिहास स्मरण गर्नुमै सीमित गर्नुहुन्न । त्यसको आलोकमा एउटा आमूल परिवर्तनको अपेक्षा सिर्जनाले राखेको हुन्छ,’ कवि सिंजाली भन्छन् । सिर्जना इतिहासबोधको लागि आवश्यक भएपनि स्वयं इतिहास त होइन तर अर्काको पीडाबारे लेख्नुभन्दा पनि समग्र पीडालाई अनुभूत गर्दै स्रष्टाहरुले जनतामा नयाँ आशा पैदा गर्न सक्नुपर्छ ।

‘पहिरोको पहिरन’ कार्यक्रमको आँगनमा कवि प्रदीप राहादी मगर दुईवटा कविता बोकेर पुगेका थिए । एउटा, ‘आऊ न मान्छे–मान्छे भएर बोलौं’ र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ । उनीसँगै हातमा डोरिएर पुगेका थिए– सोनिमा, तिर्सना र राधिका । उनीहरु श्री भानु आधारभूत विद्यालयमा पढिरहेका छन् । 

कवि राहादी मगरले विपत्ति प्राकृतिक कारण मात्रै नभएर सत्ताको असावधानी र अमानवीय चरित्रका कारण क्षति भोग्नुपरेको भन्दै राज्यले जनतालाई भ्रमको गोलचक्करमा फनफनी घुमाएको बताएका छन् । उनले कवितामार्फत् राज्यको वास्तविक चरित्र चित्रण गर्दै भनेका छन्, 

हिमाल, पहाड र तराइका 

कयौं दुरदराज बस्तीहरुमा

बाढी, पहिरोले वितण्डा मच्याइरहँदा

राज्य बेखबर हुनु–मौन बस्नु

जनताले सास्ती खेप्नु मात्रै होइन

भ्रमको गोलचक्करमा फनफनी घुमाइरहनु पनि हो

–(प्रदीप राहादीको फेसबुकवाल)

कवि राहादी मगरको काव्यिक चेतना निकै उच्च रहेको देखिन्छ । उनले कवितामार्फत् विपत्तिको मूल कारण मानवीय हुने र मान्छेको प्रतिनिधित्व विचारधाराले गर्ने भाव व्यक्त गरेका छन् । कवि राहादी मगरले विपत्तिको विचारधारात्मक प्रनिनिधित्व राज्यले गरेको कारण जनताले सास्ती खेप्नुपरेको भाव कवितामार्फत् व्यक्त गरेका छन् । पहिरोका कारणहरु खोतल्दै कवि राहादी मगरले आब्हान गरेका छन्, 

गाउँका पाखा पखेरा र सुन्दर वस्तीहरुमा

बुलडोजर लगाइदिएपछि

जबर्जस्त जमिनको छाला निकालिदिएपछि

पहिरो आउनु–पहिरो आउनु मात्रै होइन

पहिरोलाई रातो कार्पेटले निमन्त्रणा गर्नु हो

त्यसैले, आऊ न मान्छे–मान्छे भएर बोलौं । 

–(प्रदीप राहादीको फेसबुकवाल)

कविहरुको कवितासँगै अवधारणा पत्र प्रस्तुत गरिरहँदा अर्जुन तरामु मगर धेरैपटक भक्कानिएका थिए । पुर्खाहरूले निर्माण गरेको जीवन्त बस्ती ढलेको सम्झिदा सिङ्दीमा जन्मिएका अर्जुन तरामु मगरको हृदयमा धाँजा फाटेको थियो । आफ्नै छिमेकको आफन्त पुरिँदा र सपनाहरु टुक्रिदा भावुक हुनु स्वभाविक हुन्छ । उनी भन्छन्, ‘आफ्नै गाउँको पहिरोको विपत्ति र आर्तनादहरुबारे स्मरण गरेर अवधारणा पत्र लेख्दा रातभरि आुँसले कापीका पानाहरु भिजे । म यी सबै लेखोटहरु अहिले तपाइँहरुको अगाडी पढ्नै सक्दैनँ’ । उनले गाउँको स्मृति गर्दा धेरैपटक गला अवरुद्ध भएको थियो । उनले भनाइहरु राख्दा दर्शकदीर्घामा बसेका सबैका आँखाका डीलमा आँसुका तलाउ भरिएका थिए । कार्यक्रम स्थल शोकसन्तप्त बनेको थियो । 

२०७६ साउन ७ गतेको पहिरोले सबैभन्दा बढी क्षति ठूलो लुम्पेकको सिङ्दीमा परेको थियो । स्थानीय रुद्रबहादुर विकको श्रीमति र एकछोरा बबी विकले ज्यान गुमाएका थिए । कसिन्थलामा तिलबहादुर तरामुले पनि आफ्नी श्रीमति तिलकुमारी र एक छोरा दर्शनलाई गुमाएका थिए । कुरुहमा ६३ बर्षीय दुर्गाबहादुर सिंजालीको परिवारलाई पनि बज्रपात परेको थियो । बबी विक भर्खरै कक्षा ७ मा पढ्ने स्कुले विद्यार्थी थिए । उनी पढाईमा अब्बल र अनुशासित थिए । उनका मिल्ने साथीहरु दीपेन्द्र, अशोक, मिलन थिए । तर उमेरले उनी कान्छो थिए । ती साथीहरुसँगै स्कुलमा भलिबल खेल्थे । उनी खेलमा पनि अब्बल थिए । पहिरोको कारण कलिलो उमेरमा नै उनले जीवन गुमाउनुपर्यो । अर्थात् बबीको जीवन यात्राको लामो दुरी एकाएक चुँडियो । उनले देखेका सुन्दर सपना र आकांक्षाहरु भताभुङ्ग पारिदियो । उनी सबै सँगीसाथीहरुसित सदाका लागि विछोडिनुपर्यो । बबीको जीवन चुडिएको धागोजस्तै भयो । बबीको जीवनका सारा खुशीहरु सिसाझैं फुट्यो । उनका सुन्दर चाहना, टुक्रिएका सपना र उनले जीवनमा भोग्नुपरेको दुर्दान्त पीडालाई स्रष्टा एवं सत्यवती गाउँपालिका वडा नं. ३ अध्यक्ष जितु तरामु मगरले ‘बादलमाथिको गाउँबाट सबैलाई सम्झेको छु’ शीर्षकको चिठीमा उनेका छन् । चिठीमा बबीले स्कुलमा पढाउने सर म्याडमहरु, अर्जुन अंकल र टिका सर, गाउँका सप्पै साथीभाई र आफन्तलाई सम्झेका छन् । उनले आफ्नो छोटो जीवनलाई स्मरण गर्दै चिठीमा लेखेका छन्, ‘धेरै पढने अनि समाजसेवा गर्ने र बाँकी संसार आफै हेर्ने उत्कट चाहना बोकेर म स्कुल जाने आउने गर्दै थिएँ । म ७ कक्षामा पढ्दै गर्दा अकस्मात के के भयो के के ! आजको मितिमा म ११ कक्षामा पढ्दै गरेको १६ बर्षे लक्का जवान हुने थिएँ होला तर मेरा सबै चाहना र उद्देश्यहरु मैले पुरा गर्न सकिनँ, ती सबै चाहना र उद्देश्यहरु तपैहरुको जिम्मामा छोडेको छु है !’ स्रष्टा जितु तरामु मगरले बबीको यो चिठी पढ्दा कार्यक्रम स्थल स्तब्ध भएको थियो । दर्शकदीर्घा भक्कानिएको थियो र बबीको गहिरो संवेदनाको सागरमा डुबेको थियो ।  

बबीले आफ्नो जीवनलिला समाप्त भएको अर्थात् भौतिक शरिर सदाका लागि चुडिएको दिन र भविष्यको सपनाहरुलाई चिठीमा स्मरण गरेका छन्, ‘त्यस दिनलाई सम्झिँदा पनि मन भक्कानिएर आउँछ । खै कहाँबाट कसरी लेखुँ ! आफ्नै जीवनलिला समाप्त पारेको रातको कुरा । उजेलो नहुँदै फेरी कहिल्यै उजेलो नहुने गरि आएको बिहानीको कुरा । सुन्दर बस्ती एकाएक खण्डहर बनेको बेला विक्षिप्त भएको मनको कुरा । त्यो २०७६ सालको साउन ७ गतेको विभत्स बिहानीको कुरा ।.... म त कस्तो अभागी अहिले दीपेन्द्र, अशोक मिलन दाइहरुसँग भलिबल खेल्थें हुँला । सामाजिक कुरीति र सांस्कृतिक समस्याको रुपमा रहेको जातपात, छुवाछुत र अन्धविश्वासको विरुद्धमा लड्थेँ हुँला । दलाल पुँजीवादी सत्ताको दासत्व विरुद्धमा लड्थेँ हुँला ।’ स्रष्टा जितु तरामु मगरको यो चिठी शब्दशक्ति र शिल्पको हिसाबले उत्कृष्ट चिठी हो । यो चिठी जीवनबोध गराउने शब्द समवेदनाको उच्च सिर्जना हो । 

स्रष्टा प्रदीपा रानाले बबीको सपनालाई मुक्तकमा उनेकी छन् । उनले मुक्तकमा बबीको भौतिक शरिर बिदा भएर गएपनि बुढी आमाले बबीकै बाटो हेरिरहेको चित्रण गरेकी छन् । उनले बबीको असल मान्छे बन्ने र समाज सेवा गर्ने सुनौला सपनाहरु जीवितै रहेको मुक्तकमा उल्लेख गरेकी छन् । उनी भन्छिन्, 

बिना देह आत्मा मात्र तड्पिराछ, पहरहरु मेरो यहाँ

टुलुटुलु हेर्नुहुन्छ कठै बुढी आमा, कहरहरु मेरो यहाँ

असल मान्छे बन्ने पनि समाज सेवा गर्छु भन्ने

सुनौला सपना जीवितै छन् अझै पनि, रहरहरु मेरो यहाँ ।  

–(पहिरोको पहिरनमा वाचन गरिएको)

सत्यवतीमुन्तिर जैनडाँडामा पानीघट्ट रोकिएको बेला, धागो चुँडेर चङ्गा आकाशमा उडिरहेको बेला विद्यमान समय र सत्ताप्रति औंला उठाउदै कवि एवं राजनीतिकर्मी खोमा तरामु मगर कवितामार्फत् प्रश्न गर्छन्,

गोठको पताङ्गिनीमा बसेर

लहरे खोकीले मुर्छिरहेछन् छेत्रबहादुर बा 

दहनेर खस्र्युको बोटमा बसिरहेछ चराको जोडी

फूर्बल हराएर साँझपख ओहोरदोहोर

गरिरहेछ आगँनमा स्कुले नानीबाबु

 

ठीक यहीबेला किन चिच्चाएको लाम्थुडी झरना ? 

किन गड्गड्याउँछ ओखरभज्याङको पेटमा भोकको कर्कश ध्वनी ?

पहाडको छाती रेटेर किन बनाउँछ बस्तीलाई खण्डहर ? 

किन उज्याउँछ पहाडको स्वाभिमानमाथि शत्रुताको छुरी ? 

किन झम्पिन्छ सिंदीको गालामा शोकका पञ्जाहरुले ? 

किन मौनधारण गरिरहेछ हचिङ्कोटको डाँडा ?

–(पहिरोको पहिरनमा वाचन गरिएको कविता)

स्रष्टा एवं राजनीतिकर्मी टिका रानाले कवितामार्फत् शोकलाई शक्तिमा बदल्ने, निराशालाई आशा र विश्वासमा बदल्न प्रतिबद्धता गर्नुपर्ने आब्हान गरेका छन् । उनले कवितामा भनेका छन्, 

न लाउन पाउनु, न खान पाउनु, कसरी सक्छ र अङ्गले

बन्नु एकढिक्का, फाल्नु रहमा ढुङ्गा, बदल्छ ती तरङ्गले । 

–(पहिरोको पहिरनमा वाचन गरिएको)

ल्हुम्पेक कला तथा साहित्य यात्राको यो शृङ्खलामा विचार र सिर्जनामार्फत् पहिरोको पहिरन, उत्खनन् र यसका समाजशास्त्रीय चिन्तनबारे बहस केन्द्रीत भयो । यो शृङ्खलामा व्यक्त विचार र सिर्जनाहरु विपत्तिमा परेका र जीवन गुमाएकाहरुको हृदयको आवाज हो । प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको दस्तावेज हो । विपत्तिले खण्डहर बस्तीको चित्रण हो । विपत्तिले गुमाएका खुशीहरु फर्काउने प्रयत्न हो । सरकारी संयन्त्रको निकम्माले पुनर्बासमा गरिएको ढिलाई, अवैज्ञानिक र संवेदनहीन मस्तिष्कचेत विरुद्ध खबरदारी हो । विपत्तिबाट भुइँमान्छेहरुले सिक्ने पाठशाला हो । बिषय विज्ञ एवं साहित्यिक स्रष्टाहरूले विपतको बेला शब्दमा प्राण भरेर आशाको गीतहरु गाउदै जानुपर्दछ । ‘पहिरोको पहिरन’मा व्यक्त गरिएका यी विचार र सिर्जनाहरु विपत्तिमा गुञ्जिने अमर समवेत गीतहरु हुन् । अन्त्यमा कवि भूपी शेरचनको कवितांशबाट टुङ्ग्याउँछु –

‘जब बिउँझन्छु म

छिप्पिन आँटेको जाँडको घैंटोजस्तो

उत्तेजित टाउको उचालेर

अनि हेर्दैछु– ताजा अखबार 

चील र गिद्ध उडिरहेको आकाश

सिनुको गन्ध बोकेका

म गाड्छु दाँत टोष्टमाथि

र मिल्काउँछु एक टुक्रा दैलोको घामतिर

अनि घाम फैलिन्छ चाउरेको विश्वमाथि

बासी टोष्टमाथि पग्लिएको नौनीझै

यसरी सुरु हुन्छ एउटा नयाँ दिन’

–(भूपी शेरचन, पहिरो जाने पहाडमुन्तिर)

-www.janapatrika.com