सम्पादकीय : कमरेड पुष्पलालको जीवनबाट प्रेरणा लिँदै अघि बढौँ ! 

'मालेमावादको क्रान्तिकारी झण्डालाई अझ दह्रोसित पक्रदै अगाडी बढ्नु नै पुष्पलालप्रतिको सम्मान'

सम्पादकीय : कमरेड पुष्पलालको जीवनबाट प्रेरणा लिँदै अघि बढौँ ! 

सम्पादकीय

आज साउन ७ गते । अर्थात् ४४ पुष्पलाल स्मृति दिवस ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४४ औं स्मृति दिवस हो । कमरेड पुष्पलाल दूरदर्शिता, त्याग र इमानका प्रतीकका रुपमा नेपालको राजनीतिक अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । कमरेड पुष्पलाल जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको हो । उहाँका बुवाको नाम भक्तलाल र आमाको नाम तुलसीकुमारी हो । उहाँ भक्तलाल र तुलसीकुमारीका माहिला छोरा हुनुहुन्थ्यो । 

कमरेड पुष्पलालको परिवार नै आन्दोलनकारी थियो । कुनै पनि प्रकारका अन्याय अत्याचारका विरुद्धमा न्याय र समानताका निम्ति सङ्गठित हुने र संघर्ष गर्ने गुण उहाँलाई घरदेखि नै पाउनुभएको थियो । उहाँका बुवा भक्तलाल न्यून वैतनिक (कम तलब पाउने)सरकारी कर्मचारी हुनुहुन्थ्यो । भक्तलाल २००९ सालमा भएको न्यून वैतनिक कर्मचारीहरूको आन्दोलन हाँक्ने कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । सहिद गङ्गालाल उहाँका सहोदर दाजु हुनुहुन्थ्यो । 

वि.सं. १९९७ सालमा गङ्गालाल श्रेष्ठलाई तत्कालीन राणा शाहीले गोली हानेर मारेको थियो ।  यसरी मारिनुभन्दा एक दिनअघि उहाँलाई राखिएको भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई भनेको ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको कुरा इतिहासमा प्रसिद्ध छ । दाजु गङ्गालालको यही वाक्य नै पुष्पलाललाई राजनीतिक क्रान्तिमा लाग्ने ठूलो प्रेरणा स्रोत बन्यो । 

सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरु निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर कमरेड पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रुपमा आज महासचिव विप्लवले नेतृत्व गरेको नेकपा सशक्त र लोकप्रिय पार्टीका रुपमा देशभर स्थापित भएको छ ।
नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ शून्यबाट काम सुरु गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रुपमा रहिरहनुभएको छ । ५४ बर्ष लामो यात्रामा पुष्पलालले आफ्नो जीवनकालमा गर्नुभएको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रुपमा रहेको छ ।

कम्युनिस्ट पार्टीको संस्थापक महासचिवलाई पहिलो महाधिवेशन गर्न नदिएरै बीचैबाट हटाइँदा, महाधिवेशनबाट निर्वाचित भएकाहरु २०१७ पुस १ गतेको शाही ‘कु’लाई समर्थन गर्दै विचलित हुँदा र आफ्ना कैयौँ सहयोद्धाहरुले सैद्धान्तिक र संगठनात्मक मतभेद देखाउँदै आफूलाई छाडेर अलगिँदा समेत कमरेड पुष्पलाल आफ्नो कामबाट विचलित हुनुभएन । तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्बन गर्दै कम्युनिस्ट पार्टीको झण्डालाई माथि उठाउन पुष्पलालले आफ्नो जीवन समर्पित गर्नुभयो । त्यसैको जगमा उभिएर आज नेपालमा नेपाल कम्युनिस्ट पार्टी सिंगो संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी धारको नेतृत्व गरिरहेको छ ।  

कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर कम्युनिस्ट विचारधारासँग नेपालीहरुको परिचय गराउनुका साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर त्यसमा गोलबन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ । त्यति मात्र होइन, नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीवादी होइन, द्वन्द्वात्मक भौतिकवादी अध्ययन–विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । सांस्कृतिक रुपान्तरणबिना कम्युनिस्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई पनि उत्तिकै जोड दिनुभएको छ । 

एकदलीय, निरंकुश र हुकुमी पञ्चायती व्यवस्थालाई फाल्नका लागि कम्युनिस्ट र कांग्रेसबीच संयुक्त मोर्चा बनाउनुपर्छ भन्दा अनेक आरोप खेप्नुपरे पनि कमरेड पुष्पलाल आफ्नो नीतिलाई कहिल्यै छाड्नुभएन । प्रमुख अन्तरविरोधको सही किटान र त्यसका विरुद्धमा सहायक अन्तरविरोधहरुलाई थाँती राखेर मोर्चा बनाउँदा मात्रै पञ्चायतलाई फाल्न सकिन्छ भन्ने दूरदृष्टिकै आलोकमा २०४६ सालको संयुक्त जनआन्दोलन अघि बढेका कारण बहुलीय प्रजातन्त्र स्थापना सम्भव भएको थियो । यसको परिकल्पनाकार कमरेड पुष्पलाल नै हुनुहुन्थ्यो । 
नेताका रुपमा स्थापित हुन उसले कुनै पद–प्रतिष्ठा पायो वा पाएन भन्ने आधारमा होइन, उसले अघि सारेका नीतिहरुले सफलता पाए वा पाएनन् भन्ने आधारमा तय हुन्छ भन्ने उदाहरण पुष्पलाल हुनुहुन्छ । नेपालबाट सामन्ती राजतन्त्रलाई सधैँका लागि विदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिबद्धता कार्यान्वयन भएको आजको युगमा उहाँको सान्दर्भिकता झन् बढेको छ ।

सही राजनीतिलाई अघि बढाउन सही वा क्रान्तिकारी विचारधारा हुनुपर्छ भन्नेमा दुईमत छैन । त्यसका लागि पर्याप्त मात्रामा अध्ययन, चिन्तन र विश्लेषण आवश्यक पदर्छ । कमरेड पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्बन्ध, संस्कृति जस्ता विषयका गहन अध्येता हुनुहुन्थ्यो भन्ने कुरा उहाँका संकलित रचनाहरु अध्ययन गर्दा थाहा हुन्छ । इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिस्ट पार्टी अघि बढ्नुपर्छ भन्ने कुरामा कमरेड पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख गर्नुभएको छ । यतिसम्म कि, नयाँ जनवादी वा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भएपछि कम्युनिस्ट पार्टीको सत्ता कस्तो हुनुपर्दछ भन्ने बारे समेत पुष्पलालले गम्भीरताका साथ उठाउनुभएको छ ।  

पञ्चायत वा प्रतिक्रियावादी राजनीतिक व्यवस्थाका कारण देशभित्रै बसेर राजनीतिक गर्न असम्भव भएर भारत निर्वासित हुनुपरे पनि त्यसका प्रभावहरु पुष्पलालको जीवन र लेखनमा कहीँकतै परेको भेटिँदैन । ‘लाखौँलाख झुपडीहरुको एकता नै नेपालको राष्ट्रियता हो’ भन्दै आफ्नो देशलाई बलियो बनाउन शासक होइन, जनता सचेत हुनुपर्छ भन्ने मान्यतालाई पुष्पलालले अघि बढाउनुभएको थियो । कम्युनिस्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुन् भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गर्नुभएको थियो । दिल्ली सम्झौताको विरोधदेखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपंक्तिमा रहेर विरोध गर्ने कामको अगुवाइ पुष्पलालले गर्नुभएको थियो ।

उहाँले २०१६ सालमा सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो र त्यसै वर्ष चीनको पनि भ्रमण गर्नुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलन अर्थात् एकीकृत जनक्रान्ति कमरेड पुष्पलाल जस्ता आदर्श नेताहरुको वैचारिक नेतृत्व, इमान र संघर्षको जगमा उभिएको छ । नेपाली जनताका महान् नेता, दूरदर्शी नेता, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालका अन्य अनेकौँ कालजयी मार्गदर्शनहरू छन् । उहाँ भौतिक रूपमा नरहनुभएको भएतापनि उहाँका विचारहरू हामीबीच छन् र तिनीहरूले हामीलाई सदा मार्गदर्शन गरिरहनेछन् । साथै, उहाँको त्यागी र समर्पित जीवनबाट अनेकौँ शिक्षा लिनुपर्ने त छँदैछ ।

कम्युनिस्ट आन्दोलनमा देखापर्ने अवसरवाद, गुटवाद, फुटवाद, पलायन र विसर्जनवाद तथा दक्षिणपन्थी संशोधनवाद विरुद्ध संघर्ष गर्दै क्रान्तिकारीहरु निरन्तर अगाडी बढ्नु पर्दछ । साम्राज्यवाद एवं दलाल पुँजीवाद विरुद्ध संघर्ष गर्न सच्चा क्रान्तिकारीहरु एक हुँदै जानुपर्दछ । आज मालेमावादको क्रान्तिकारी झण्डालाई अझ दह्रोसित पक्रदै वैज्ञानिक समाजवाद प्राप्तिको संघर्षमा अगाडी बढ्न एकीकृत जनक्रान्तिको बाटोमा अगाडी बढ्नु नै पुष्पलालप्रतिको सम्मान ठहर्नेछ । आज उहाँको ४४ औं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै क्रान्तिकारी लाल सलाम टक्रयाउँदछौं !

२०७९ साउन ७ गते