धर्मेन्द्र र सुदर्शन क्रान्तिबाट भागेका भगौडा हुन् : विप्लव

बुटवल । नेकपाका महासचिव विप्लवले वैज्ञानिक समाजवादी क्रान्तिको यात्राबाट धर्मेन्द्र र सुदर्शनहरु भागेको बताउनुभएको छ । महासचिव विप्लवले पार्टी जीवनबारे विश्लेषण गर्दै वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म क्रान्तिकारी आन्दोलनको लामो यात्रामा कयौं गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जाने बताउदै यसको पछिल्लो उदाहरण धर्मेन्द्र र सुदर्शन भएको बताउनुभयो ।

उहाँले कञ्चनर सुदर्शनले क्रान्ति गर्छन् भनेर उनको पछाडि लाग्नु आफुलाई विसर्जित गर्नुभएको भन्दै पलायनवाद र अराजकतावादको एउटै प्रवृत्ति भएकाहरु सधै एकैठाउँमा हुने समेत बताउनुभयो । 

अखिल नेपालजन सांस्कृतिक महासंघको पाँचौं पूर्ण बैठकमा प्रशिक्षण मन्तव्य राख्दै महासचिव विप्लवले साहित्य क्रान्तिको साधन भएको बताउनुभएको छ । महासचिव विप्लवले रुसी क्रान्तिको सन्दर्भमा कमरेड लेनिनले साहित्यलाई दाँत र पेचकिला भन्नुभएको प्रसंग जोड्दै उहाँले साहित्यको पक्षधरता हुने बताउनुभयो ।

उहाँले साहित्य वर्गीय दृष्टिले श्रमिकवर्गको पक्षमा, सत्ताको दृष्टिले वैज्ञानिक समाजवादको पक्षमा र संघर्षको दृष्टिले वर्गसंघर्ष र एकीकृत जनक्रान्तिको पक्षमा हुनुपर्ने बताउनुभयो । महासचिव विप्लवले लेखक साहित्यकार एवं संस्कृतिकर्मीहरु साहित्यको पक्षधरता मात्रनभएर प्रतिबद्धतासहित संघर्षमा हुनुपर्ने बताउनुभयो  ।

उहाँले संस्कृति राजनीतिबाट अलग हुन्छ भन्ने गलतभएको भन्दै जनताको पक्षमा सिर्जनाका लागी कयौं अप्ठ्यारा र संघर्षबाट गुज्रनुपर्ने बताउनुभयो ।

महासचिव विप्लवले दलाल संसदीय पुँजीवादी राज्यसत्ता पूर्ण रुपमा ध्वस्त नपार्दासम्म जनताको व्यवस्था नआउने भन्दै यसका लागी पार्टीले निरन्तर संघर्ष गर्ने बताउनुभयो । आलोचनाबाट अस्तित्व धान्दै आएका कतिपय लेखक संस्कृति कर्मीहरुप्रति लक्षित गर्दै महासचिव विप्लवले माक्र्सवादी साहित्यकार एवं संस्कृतिकर्मीहरु आलोचनात्मक चेतसहितको हुनुपर्ने तर आलोचना वर्गसंघर्षको पक्षमा हुनुपर्ने बताउनुभयो ।

महासचिव विप्लवले साम्राज्यवादले नेपाललाई कम्युनिस्ट रहित पश्चिम बंगाल बनाउन खोजिरहेको भन्दै यसका विरुद्ध डटेर लड्ने बताउनुभयो । उहाँले राज्यसत्ता बन्दुकको नालबाट निस्कने भन्दै अहिले विचारको बन्दुकबोकेर लड्ने बताउनुभयो ।

महासचिव विप्लवले पार्टी विरुद्ध प्रतिक्रियावादीहरु, फुटवाद र अवसरवादीहरुले चौतर्फी हमला गर्ने प्रयास गरेपनि यसले आफुलाई कुनै फरक नपार्ने बताउनुभयो । 
प्रशिक्षणमा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर, पार्टी केन्द्रीय सदस्यएवं महासंघका केन्द्रीय अध्यक्ष माइला लामा लगायतले प्रशिक्षण दिनुभएको थियो ।